‘हिमपहिरोमा हराइरहेका पर्वतारोही भेटिने आशा न्यून’


नयाँदिल्ली, (एजेन्सी)

भारतीय उद्धारकर्मीले आइतबार हिमालयमा हराइरहेका आठजना पर्वतारोही फेला पर्ने सम्भावना निकै न्यून रहेको बताएका छन्। भारतीय वायु सेनाका दुईवटा हेलिकोप्टरले विकट पहाडी क्षेत्रमा तिनीहरुको खोजी गरिरहेको तर खराब मौसमका कारण अपरेसन रोकिनुपरेको अधिकारीहरुले बताएका छन्।
गत १३ मेमा नन्दा देवी चढ्ने क्रममा चारजना बेलायती , दुईजना अमेरिकी, एकजना अस्ट्रेलियाली र एकजना इटालियन नागरिक हराएका थिए। बेलायती पर्वतारोहण टोलिको परिवारले यस घटनाबाट आफूहरु स्तब्ध भएको बताएका छन्।

यसअघि अधिकारीहरुले चारजना अन्य बेलायती पर्वतारोहीलाई उद्धार गरिएको बताएका थिए। आइतबार नन्दा देवीको पहिलो आधार शिविरमा देखिएका तिनीहरुलाई हवाई उद्धार गरी सुरक्षित गन्तव्यमा लगिएको थियो।

ती चारजना भने हराइरहेका ठूलो समूहको हिस्सा नभएको र ७ हजार ८ सय १६ मिटर अग्लो सो हिमालमा हिम पहिरो आउनु एक दिनअघि सम्म अर्थात २६ मे सम्म सम्पर्कमा रहेको अधिकारीहरुले बताएका छन् । यो सानो टोली भने मौसम अत्यन्तै नाजुक हुन थालेकाले आधार शिविरतर्फ फर्केको थियो।

तर आठ सदस्यीय टोली भने अर्को नाम नखुलेको शिखर चढ्न अघि बढेको सरकारी अधिकारी विजयकुमार जोगदन्दाले जानकारी दिएका छन्। हराइरहेका पर्वतारोही टोलीको नेतृत्व अनुभवी बेलायती पर्वतारोहण पथ प्रदर्शक मार्टिन मोरानले गरिरहेका छन्।

उनको स्कटल्यान्डस्थित कम्पनी मोरान माउन्टेनले भारतका थुप्रै हिमालमा पर्वतारोहण कार्यक्र सञ्चाल गर्दै आएको छ। उनी स्कटल्यान्डकै टोर्रिडन माउन्टेन रेस्कयु टिमका पनि सदस्य हुन्।

हराइरहेको टोलीका बाँकी सदस्यमा बेलायतका जोह्न म्याकलरेन, रूपर्ट व्हेवेल र रिचर्ड पेने, अमेरिकाका एन्थोनी सुदकुम र रोनाल्ड बेइमल तथा अस्ट्रेलियाली रुथ म्याक्यान्स र भारतीय पथप्रदर्शक चेतन पाण्डे रहेका छन्। युनिभर्सिटी अफ योर्कले आफ्ना एक शिक्षक डा. रिचर्ड पेने हराइरहेको औपचारिक पुष्टि गरेको छ।