इमरान खानका लागि अजिंगरको छालाको विशेष चप्पल


क्वेटा, (एजेन्सी)

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरमा इमरान खानका लागि चर्चित चप्पल बनाउने नुरउद्दिन चाचा योपटक अजिंगरको छालाबाट विशेष चप्पल तयार गरिरहेका छन्। यो चप्पल इमरान खानलाई ईदको उपहारका रूपमा दिइने बताइएको छ।

इमरान खानलाई मन पराउने एक व्यक्तिले उनका लागि विशेष उपहार दिन चाहेको आफूसँग कुरा गरेको चाचाले बीबीसीलाई बताए। नोमान नामका ती व्यक्तिले त्यसका लागि अमेरिकाबाट सर्पको छाला पनि पठाइदिए।

उक्त छालाबाट इमरान खानका लागि चप्पल तयार गर्ने उनको इच्छा छ। नरउद्दिन चप्पल तयार गरिरहेका छन्। ईद अगाडि उक्त चप्पल इमरान खानलाई उपहारका रूपमा प्रदान गर्न तयार हुने उनले अपेक्षा गरेका छन्।

यो अत्यन्त आरामदायी चप्पल हुनेछ, जसमा इमरान खानलाई गर्मी नै महशुस हुने छैन। यो चप्पल लगाएर जति काम गरेपछि थकाइ लाग्ने छैन। हाम्रो कप्तानले यो चप्पल अत्यन्त मन पराउनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु।

नरउद्दिन चाचाका जेठो छोरा सलाम उद्दिनले आफूले बनाइरहेको चप्पल आफू र उनका पिता नुरउद्दिनले विशेष गरी डिजाइन गरेको बताए।

सलामउद्दिनका अनुसार यो पेशावरी चप्पलजस्तो देखिने यो जुत्ता बनाउनमा ४ फिट लामो सापको छालाको प्रयोग हुनेछ। प्रधानमन्त्री इमरान खानको यो चप्पल उपहारमा दिएपछि ब्रान्ड नाम पनि राखिने उनले बताए। यो चप्पल बनाउनमा कम्तिमा ४० हजार पाकिस्तानी रूपियाँ लाग्ने अनुमान गरिएको छ। यसअघि पाकिस्तानमा साँपको छालाबाट चप्पल बनाइएको छैन।