साइकलबाट नेपालको फन्को


चिरञ्जीवी मास्के, दोलखा

खोटाङ दिक्तेलका ३४ वर्षीय कर्ण श्रेष्ठ साइकल यात्रामा दोलखा सदरमुकाम चरिकोट आइपुग्नुभएको छ। उहाँको लक्ष्य देशको ७७ वटै जिल्ला पुगेर भ्रष्टाचारविरुद्ध चेतना अभिवृद्धि गर्ने र धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने रहेको छ।

साइकलमा विश्वको यात्रा गर्ने र देशका विभिन्न जिल्लामा पुग्ने अभियान पुरानै हो कर्णले भन्नुभयो– ‘तर म पुरानै अभियानलाई सार्थक र उद्देश्यमूलक बनाउने लक्ष्यका साथ हिँडिरहेको छु।

उहाँ अभियानका क्रममा जुन जिल्लामा पुग्नुहुन्छ, त्यहाँ केही दिन बसेर धार्मिक एवं पर्यटकीय क्षेत्रको अवलोकन गर्ने, आफू पुगिसकेको जिल्लाको बारेमा जानकारी गराउने, विद्यालय, स्थानीय तह, पत्रकार, नागरिक प्रतिनिधि र सरकारी कर्मचारीहरूसँग भेटघाट गर्दै भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता, सीपमूलक शिक्षाको सम्भाव्यता र जानकारी आदिको बारेमा छलफल गर्ने गर्नुहुन्छ।

२०७५ चैत महिनामा अभियान शुरु गरेयता दोलखा यात्रा कर्णको २६ जिल्ला हो। उहाँले आफू पुगेका २५ वटा जिल्लाका धार्मिक एवं पर्यटकीयस्थल, ती जिल्लाको रहनसहन, भेषभूषा, भाषाका बारेमा जानकारी गराउँदै दोलखाको धार्मिक एवं पर्यटकीय स्थल, भेषभूषा, भाषा, रहनसहन आदिका बारेमा जानकारीसमेत लिनुभएको छ।

उहाँले साइकल यात्राबाट जिल्ला भ्रमण शुरु गरेको तीन महिना भयो। अबको तीन महिनामा ५१ वटा जिल्लामा पुगी नेपालको ७७ जिल्लाको भ्रमण पूरा गर्ने कर्णको योजना छ। ‘समयले साथ दियो भने म आफूले निर्धारण गरेको समय सीमाभित्रै देशका सबै जिल्ला पुग्नेछु’ –उहाँले भन्नुभयो। जिल्ला भ्रमण पूरा भएपछि ७७ वटै जिल्लाको पर्यटकीय स्थल, सामाजिक तथा आर्थिक अवस्था, शैक्षिक अवस्था आदि समेटेर पुस्तक प्रकाशन गर्ने लक्ष्य कर्णको छ।

साइकल यात्राको लागि उहाँले आफ्नो व्यक्तिगत खर्च नै गरिरहेका छन्। विभिन्न जिल्ला पुग्दा त्यहाँको स्थानीय तह, व्यक्ति र सरकारी कार्यालयले समेत धेरथोर सहयोग गरेको कर्णले बताउनुभयो। ‘मैले यो यात्राको लागि आर्थिक र समयको हिसाबले निकै खर्च गरेको छु, केही दाताहरूले पनि सहयोग गर्नुभएको छ।

अनि म पुगेका जिल्लामा मेरो अभियानका सहभागीहरूले मेरो यात्राबाट केही ठोस उपलब्धि हुने अपेक्षा पनि लिनुभएको छ, त्यसैले म यो यात्रालाई उदेश्य मूलक बनाउन मेहेनत गर्ने छु’ –उहाँले भन्नुभयो। साइकल यात्राबाट देशका सबै ठाँउमा पुगेपछि आफूले देशका लागि केही न केही दिने कर्ण बताउनुहुन्छ। समयले साथ दियो भने विश्व साइकल यात्राका लागि समेत निस्कने कर्ण बताउनुहुन्छ।