पत्रकारमाथिजाइ नलाग्न चेतावनी


नेपाल समाचारपत्र, काठमाडौं

पछिल्लो केही दिनयता सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका नकारात्मक टीका–टिप्पणी र पोस्ट गरिएका सामग्रीप्रति नेपाल पत्रकार महासंघले आपत्ति प्रकट गरेको छ।

महासंघले सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा सञ्चारकर्मीप्रति नकारात्मक धारणा फैलाउने, घृणा पैदा गर्ने, कार्य सम्पादनमा हतोत्साही बनाउने र असुरक्षित बनाउने ठहर गरेको छ।

महासंघ आफैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हो, तर सामाजिक सञ्जालमा सञ्चारकर्मीहरूविरुद्ध आएका सामग्रीहरू अभिव्यक्ति स्वतन्त्रता मात्रै हो भनेर मान्न सकिने अवस्था नरहेको महासंघले जनाएको छ।

ज्ञानेन्द्र शाहीले पनि सामाजिक सञ्जालको दुरुपयोग गरी सार्वजनिक गरिएका सामग्री अभिव्यक्ति स्वतन्त्रताको उपभोग मात्रै हो भनेर मान्न नसकिने र शाहीको अभिव्यक्तिले कर्णाली प्रदेशका सञ्चारकर्मीको आत्म सम्मानमा चोट पुग्नुका साथै असुरक्षा पैदा गराएको महासंघले जनाएको छ।

यसै प्रकरणसँग जोडेर नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, सुर्खेत जिल्ला अध्यक्ष गणेशकञ्चन भारती र पत्रकारद्वय नगेन्द्र उपाध्याय तथा शेरबहादुर थापाको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा गरिएको टीका–टिप्पणी र धम्कीप्रति महासंघले निन्दा गर्दै यस्ता कार्य नगर्न चेतावनी दिएको छ।

महासंघ कानुनी राज्यको वकालत गर्ने संस्था भएकाले अदालत र कानुनको उच्च सम्मान गर्ने स्पष्ट पार्न चाहन्छ। तसर्थ, समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालको माध्यमबाट अफवाह फैलाउनेहरूविरुद्ध कानुनी कारबाही गर्न र सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।