चीनको चेतावनी, अमेरिकासँगको युद्ध विश्वका लागि भयावह हुनेछ ः रक्षा 


सिंगापुर, (एजेन्सी)

चीनका रक्षामन्त्री वेई फेंगले आइतबार चेतावनी दिँदै अमेरिकासँग युद्ध भएमा त्यो विश्वका लागि अत्यन्त भयावह सावित हुने बताए। ताइवान र दक्षिण चीन सागरको मुद्दामा हस्तक्षेप नगर्नु उसका लागि राम्रो हुने उनले बताए।

 

सिंगापुरमा रुक्षा मामिलामा आयोजित सांग्रिला डायलगमा वेईले उक्त चेतावनी दिएका हुन् ।हालै मात्र डोनाल्ड ट्रम्प प्रशासनले स्वशासित तथा लोकतान्त्रिक व्यवस्था रहेको ताइवानलाई समर्थन गर्न शुरू गरेको थियो। साथै अमेरिकाले ताइवान जल डमरुमा आफ्नो सैन्य जहाज पठाएको थियो।

 

वेईले भने– ‘यदि कसैले ताइवान र चीनको सम्बन्धमा हस्तक्षेप गर्ने प्रयास गर्छ भने हामी अन्तसम्म लड्नेछौं। हाम्रा लागि ताइवान एक पवित्र क्षेत्र जस्तै हो। एसियामा हाम्रो कारबाहीको उद्देश्य आफ्नो सुरक्षा कायम राख्नु हो।

 

हामी कसैमाथि हमला गर्दैनौं तर आफ्नो हितको रक्षाका लागि हमला गर्न चुक्नेछैनौं। सन् २०११ पछि सांग्रिला डायलगमा सहभागी हुने वेई चीनका पहिलो रक्षा मन्त्री हुन्।

 

चीनलाई टुक्र्याउन खोज्ने कुनै पनि कदमलाई नसहने वेईले बताए। ताइवानमा हस्तक्षेप गर्ने प्रयास असफल हुनेछ। यदि कसैले ताइवानलाई चीनबाट अलग पार्ने प्रयास गर्छ भने हाम्रो सेनासँग लड्नेबाहेक कुनै उपाय हुनेछैन। जसरी अमेरिका अविभाजित हो, त्यस्तै स्थिति चीनको हो। हाम्रो देश हरहालमा एक रहनेछ।

 

कयौं देशको जस्तै अमेरिकाको पनि ताइवानसँग औपचारिक सम्बन्ध छैन। तर उसले ताइवानलाई बलियो समर्थन गर्ने मात्र होइन, उसको हतियारको पनि प्रमुख श्रोत हो।

 

शनिबार अमेरिकाका कार्यवाहक रक्षामन्त्री पेट्रिक सेनहनले सांग्रिला डायलगमा लामो समयसम्म एसियामा चीनको व्यवहारलाई लुकेर हेरिबस्न नसक्ने बताएका थिए। दक्षिण चीन सागरमा सैन्य अभ्यास

 

यसैबीच चीनले दक्षिण चीन सागरमा दुई दिवशीय सैन्य तालिम शुरु गरेको छ। बेइजिङको दावी रहेको उक्त क्षेको रक्षाका लागि चिनियाँ सशस्त्र सेनाले कुनै पनि कदम चाल्न सक्ने चिनियाँ रक्षा मन्त्रीको चेतावनी आइरहेकै बेला उक्त सैन्य अभ्यास शुरु भएको हो। चीनको कब्जामा रहेको पारासेल आईल्यान्ड समूहनजिकै आइतबार पुरै र मंगलबार आधा दिन उक्त अभ्यास हुने चाइना मेरिटाइम सेफ्टी एडमिनिस्ट्रेसनले जनाएको छ।