समुदाय-प्रहरी साझेदारी अवधारणा: जनचेतनामुलक कार्यक्रम सम्पन्न


रुपन्देही, समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत बुटवलको दियालो फुडल्यान्डमा जनचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, रानीबारीको संयुक्त आयोजनामा रुपन्देहीस्थित कान्ति मावि, उजिर सिंह मावि र कालिका मानव ज्ञान माविमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त जनचेतनामूलक कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले बढ्दो शहरीकरण र आधुनिकीकरणसँगै लागूपदार्थ दुर्व्यसन, घरेलु हिंसा, मानव बेचबिखन, सामाजिक संजालको दुरुपयोगबाट हुने विद्युतिय अपराधहरु बढ्दै गइरहेकोले यस्ता अपराधबाट सचेत रहनुपर्ने बताउनुभयो । समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई केन्द्रदेखि टोलसम्म क्रियाशील र जनकेन्द्रित बनाउने नेपाल प्रहरी श्रीमती संघको उद्धेश्य रहेको समेत उहाँले चर्चा गर्नुभयो ।

सो अवसरमा रुपन्देही जिल्ला प्रशासन कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले समेत समुदाय-प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा लागूऔषध दुर्व्यसन, घरेलु हिंसा र यौन हिंसा लगायतका विषयमा प्रहरी निरीक्षक पुर्णिमा चन्दले प्रस्तुतीकरण गर्नुभएको थियो ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।