जगन्नाथ मन्दिरलाई ५० थान प्लाष्टिकका कुर्सी सहयोग


प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजनेमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिरलाई ५० थान प्लाष्टिकका कुर्सीहरु सहयोग भएको छ । लायन्स क्लब अफ म्याग्दी दोभानको संयोजनमा जिल्लास्थित सहकारी संघसंस्था तथा विभिन्न व्यक्तिहरुको सहयोगमा सङ्कलित कुर्सी शनिबार मन्दिरलाई हस्तान्तरण गरिएको हो ।

जगन्नाथ मन्दिरमा दर्शन तथा पुजाअर्चना गर्न आउने श्रद्धालु भक्तजनहरुको सुविधाका लागि मन्दिर र जगन्नाथ आमा समूहलाई प्लाष्टिकका कुर्सीहरु उपलब्ध गराइएको छ । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठ र लायन्सका पदाधिकारीले जगन्नाथ मन्दिर गुठी व्यवस्थापन तथा सञ्चालन समितिका कोषाध्यक्ष रामचन्द्र पौडेल र आमा समूहका अध्यक्ष भगवती कार्कीसहित पदाधिकारीलाई कुर्सी हस्तान्तरण गरिएको थियो ।

कुर्सी हस्तान्तरण गर्दै बेनपाका उपप्रमुख बरुवालले धार्मिक संघसंस्थाहरुको पनि छाता सङ्गठन बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएकी छिन् । उनले मन्दिरलाई भौतिक हिसाबले सहयोग गर्न र आमा समूहको क्षमता वृद्धि गर्नका लागि कुर्सी सहयोग गरिएको बताउँदै सही सदुपयोग गर्न सुझावसहित आउँदा दिनहरुमा समेत अन्य सरसहयोगहरु गरिने बताइन् ।

जगन्नाथ मन्दिर गुठी व्यवस्थापन तथा सञ्चालन समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलले जगन्नाथ मन्दिरको विकास र प्रवद्र्धनका लागि सबैले सहयोग गर्नुपर्ने बताउँदै अब छिट्टै महायज्ञको आयव्यय सार्वजनिकसहित नवनिर्मित मन्दिरको उद्घाटनको कार्यक्रम तय गरिने बताए ।

कार्यक्रममा लायन्स क्लब अफ म्याग्दी दोभानका संस्थापक अध्यक्ष अमृतदेवी बानियाँ, दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु गौतम, लायन्स क्लब अफ बेनी महारानीका अध्यक्ष हिरा शर्मा, संगम म्याग्दीका अध्यक्ष दीपक पौडेल, पत्रकार प्रताप बानियाँ र जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले मन्दिरको दीगो विकास र आमा समूहको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रमको अवसरमा क्लबका संस्थापक अध्यक्ष बानियाँले तरकारी खेती सिँचाईका लागि आमा समूहलाई हजारी र वर्तमान अध्यक्ष श्रेष्ठले मन्दिरलाई बिजुलीका बल्ब सहयोग गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठको अध्यक्षता, जगन्नाथ मन्दिर गुठी व्यवस्थापन तथा सञ्चालन समितिका सचिव निलकण्ठ शर्माको सञ्चालन र जगन्नाथ आमा समूहका सचिव अनिता खत्रीको स्वागतमा सम्पन्न भएको थियो ।