दुर्गम गाँउमा निशुल्क स्वास्थ्य शिविर ८० बर्षिया भद्रकलीले पाइन पहिलो पटक घरछेउमै उपचार


धनवीर दाहाल,रुकुम पुर्व ।
असी बर्षिया भद्रकली खड्काले पहिलो पटक स्वास्थ्य जाँच गर्नुभयो । त्यो पनि कुनै स्वास्थ्य चौकीमा गएर होइन । आफ्नै घर छेउमा स्वास्थ्य शिविर संचालन भएपछि भद्रकलीले पहिलो पटक स्वास्थ्य जाँच गर्नुभएको हो ।

मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत रुकुम पुर्वको भुमे गाँउपालिकाले दुर्गम क्षेत्रका बासिन्दालाई लक्षित गरी भुमे गाँउपालिका वडा नं ८ कोर्जामा संचालन गरेको निशुल्क स्वास्थ्य शिविरमा भद्रकलीले आफुलाई देखिएको दम रोगको उपचार गर्नुभयो । आफ्नो उमेर ८० बर्षको हुँदा समेत उहाँले स्वास्थ्य संस्थामा चेक गर्न नगएको बताउनुभयो ।

तर घर छेउमै निशुल्क स्वास्थ्य शिविर संचालन भएपछि चेक गर्दा दम देखिएको भद्रकलीको भनाई छ । भद्रकली मात्र होइन सोही ठाँउकी सेती ओली र कामनीदेवी पुनले पनि पहिलो पटक घरछेउमै संचालन भएको स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउनुभएको हो ।

स्वास्थ्य सेवाबाट बञ्चीत नागरिकका लागी सरकारले नै दुर्गम बस्तीमा स्वास्थ्य सेवा सञ्चालन गरेपछि सो क्षेत्रका बासिन्दाले रोगको उपचार तथा परामर्श लिएका छन् । बिशेष गरी महिला रोगको उपचार तथा परामर्श दिइएको छ ।

भुमे गाँउपालिकाको दुर्गम गाँउ कोर्जामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको आर्थिक सहयोग, भुमे गाउँपालिकाको आयोजना र रुकुमेली सामुदायिक अस्पत्तालको प्राविधिक सहयोगमा दुईदिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।

जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने यहाँको मोराबांग, खावांग बगर, महत, गुनाम, कोर्जा लगायतका बासिन्दालाई लक्षित गरेर गाउँमै स्वास्थ्य शिविर राखिएको गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताउनुुभयो ।

आर्थिक, भौगोलिक अवस्थाबाट बञ्चीत नागरिकका लागी निशुल्क स्वास्थ्य शिविरले राहत भएको अध्यक्ष बुढाको भनाई छ ।

निशुल्क स्वास्थ्य शिविरमा अत्याधुनिक सेवा सुविधा सहित अनुभवी विशेषज्ञ मार्फत स्वास्थ्य चेकजाँच गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । शिविरमा विशेष गरेर स्त्रीरोग सम्बन्धी महिलाको तल्लो पेट, ढाड कम्मर दुख्ने, सेतोपानी बग्ने, गर्भवती महिलाको स्वास्थ्य चेकजाँच संगै भिडियो एक्सरे, इ.सी.जी, प्रयोगशाला, नाक, कान, घाँटी लगायतको उपचार गरिएको महिला रोग बिशेषज्ञ डाक्टर नबिन बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्य शिविरमा निशुल्क औषधीको समेत व्यवस्था गरिएको छ । ग्रामिण भेगमा बसोबास गर्ने नागरिकको शिक्षा, स्वास्थ्य र आयआर्जनलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम रुकुम पूर्वका जिल्ला अधिकृत लिलामणि गौतमको भनाई छ ।

ग्रामिण भेगका बासिन्दालाई घरछेउमै स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यका साथ स्वास्थ्य शिविर संचालन गरिएको रुकुमेली सामुदायिक अस्पतालका व्यवस्थापक हरिबोल भारतीले बताउनुभयो ।