सहकारीमा पैसा हिनामिना


नेपाल समाचारपत्र, बाँके

४२ डिग्री तापक्रममा घाममा उभिँदा आफैले लगाएको कपडाले पोल्छ। तर, पनि मध्यदिनमा ठूलो समूह सहकारी र जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा धर्ना दिइरहेका छन्। उनीहरुलाई ४२ डिग्रीको वास्ता छैन। किनकी उनीहरुले खाई–नखाई जम्मा गरेको रकम सहकारीका कर्मचारीले हिनामिना गरिदिएका छन्।

नेपालगन्जमा प्रधान कार्यालय रहेर खजुरा र बैजापुरमा शाखा रहेको सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जना कर्मचारीले २६ करोड रुपियाँ हिनामिना गरेर फरार भएपछि सहकारीमा रकम जम्मा गरेकाहरु चर्को घामको बेवास्ता गर्दै नेपालगञ्जमा धर्ना दिन आइपुगेका हुन्। सहकारीका बैंकिङ प्रबन्धक कर्जा विभाग प्रमुख अरुणकुमार पाठकले २२ करोड, नायब महाप्रवन्धक गंगाधर सुवेदीले तीन करोड, बैजापुर शाखाका प्रमुख लिलाधर वलीले ४४ लाख र खजुरा शाखाका प्रमुख सूर्यकुमार विकले ६४ लाख रुपियाँ हिनामिना गरेर फरार भएका छन्।

सहकारीका ग्राहकले आफ्नो पैसा फिर्ता माग गर्दै सहकारी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन्। जिल्ला प्रहरी कार्यालयमा सञ्चालक समितिका अध्यक्ष हरदेवबक्स चौधरीले आइतबारदेखि पैसा फिर्ता गर्ने सहमति जनाए पनि त्यो दिन नभएर अझ केही दिन लाग्ने भएपछि ग्राहकहरु चर्को घामको बेवास्ता गर्दै धर्ना दिन आइपुगेका हुन्। ठूलो संख्यामा उपस्थित प्रहरीले कार्यालयलाई घेरेर राखेको थियो। सहकारीको कार्यालयमा प्रहरीको डिउटी नै लगाइएको छ।

अरुणकुमार पाठकका भाइ अजयकुमार पाठक आएर शुक्रबारसम्ममा एक करोड दिने कागज गरेर गएका थिए। अहिले उनी सम्पर्कमा नआएको सहकारी स्रोतले बताएको छ। ‘रकम दिन्छु भनेर कागज गरेर गएपछि त किन पैसा दिएन प्रहरीले हेर्नु प¥यो नि, सहकारी सञ्चालक समितिका अध्यक्ष चौधरीले भन्नुभयो–‘हामीहरु अरु पैसा जुटाउन लागि परेका छौं। ग्राहकको पैसा मर्न दिदैनौ।’ अध्यक्ष चौधरीले कार्यालय घेराउ गर्न आइपुगेका ग्राहकलाई २३ गतेसम्ममा केही रकम फिर्ता गर्ने आश्वासन दिएर फिर्ता गरेका छन्।
अध्यक्ष चौधरीका अनुसार, पाँच हजारदेखि एक लाखसम्मका दुई हजार दुई सय ग्राहकको ६ करोड ४२ लाख, एक लाखदेखि तीन लाखसम्मका ६ सय ६७ जना ग्राहकको ११ करोड २५ लाख, तीनदेखि पाँच लाखसम्मका एक लाख एक हजार ६७ जना ग्राहकको ६ करोड ३५ लाख, पाँचदेखि १० लाखसम्मका एक सय १५ जना ग्राहकको ७ करोड ६७ लाख, दश लाखदेखि एक करोडसम्म जम्मा गरेका चार सय जना रहेका छन्। सबै जनालाई एकैपटक पैसा फिर्ता गर्न सकिने अवस्था छैन। अध्यक्ष चौधरीले ३० करोड निक्षेपको १० प्रतिशत फिर्ता गर्नका लागि पनि तीन करोड रुपियाँ तत्काल आवश्यक रहेको बताए।

अहिले उनीसँग ६० लाख रुपियाँ रहेको छ। अजयकुमार पाठकले एक करोड दिने भनेका थिए। अरु सञ्चालक समिति सदस्यबाट निकालेर पैसा फिर्ता गर्ने योजनामा रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो। ‘जनताको पैसा मर्न दिनैनौ। म जुटिरहेको छु। अलिकति ढिला हुन सक्छ, चौधरीले भन्नुभयो–‘ बैंक अहिले बिरामी भएको छ। बिस्तारै तंग्रिन्छ।’
अत्याधिक गर्मीको बेवास्ता गर्दै खाई नखाई जम्मा गरेको रकम हिनामिना भएको थाहा पाएपछि दूरदराजका ग्राहक नेपालगञ्जको कार्यालयमा धर्ना दिन आइपुगेका हुन्। सहकारीको तीन ठाउँमा दैनिक रकम जम्मा गरिन्थ्यो।