किन मिलेन मन ?

0
Shares

तत्कालीन एमाले र नेकपा माओवादीबीचको सहमतिले एक वर्षपछि पनि किन पूर्णता पाएको छैन, यो गम्भीर विषय बनेको छ । दुवै दलका शीर्ष नेता केपी ओली र पुष्पकमल दाहालबीच पाँच बुँदे सहमतिपत्रमा हस्ताक्षर भएअनुसार दुवै नेताले आलोपालो गरी सरकार सञ्चालन गर्नेछन् । अर्थात् पहिलो ३० महिना ओलीको नेतृत्वमा सरकार चल्नेछ भने पछिल्लो त्यति नै समयका लागि दाहाल प्रधानमन्त्री हुनेछन् । यस मुलुकको राजनीतिक स्थिरता र सरकारको सुदृढीकरणका लागि दुई ठूला दल मिलेर यस प्रकारको सहमति गरे भने नोक्सान कसलाई छ रु आम नागरिकलाई त धेरथोर फाइदै होला, राष्ट्रियता र लोकतान्त्रिक समृद्धिका दृष्टिले नोक्सान कतै छैन ।

कतै नोक्सान नभए पनि किन सरकारको नेतृत्व परिवर्तनको सबाल बाहिर आउनासाथ राजनीतिक क्षेत्रमा हुरी चल्नथाल्छ त रु पक्कै कतै नोक्सान छ । संसद्मा प्रमुख प्रतिपक्ष रहेको नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल, मधेसवादी दल र अन्य साना पार्टीहरू नेकपामा आएको विचलनबाट राजनीतिकरूपले प्रसन्न हुन सक्छन् । नेकपा शक्तिशाली रहेसम्म यी दलहरूको सत्तामा जाने सम्भावना हुँदैन ।

सत्तामा जाने प्रयोजनले नै राजनीति गरिने भएका कारण उनीहरूले नेकपाभित्र विचलन चाहनुलाई अन्यथा मान्न पनि सकिन्न । नेपाली कांग्रेसले पूर्व एमाले र माओवादीबीच एकीकरण हुँदा अराजनीतिक गठबन्धन भयो भनेर असन्तुष्टि पनि जनाएको थियो । खास गरी प्रधानमन्त्री परिवर्तनको सबाललाई सहनै नसक्ने वर्ग हो– ओलीको सरकारमा रहेर लाभ लिने र यस सरकारलाई छाता बनाएर शीतल ताप्नेहरू । प्रधानमन्त्रीका किचेन क्याबिनेट र चाकडी गरेर दुनो सोझ्याउनेका लागि पाँच बुँदे सहमति पीडाको विषय हो । बेला आएपछि नेतृत्व परिवर्तन भएन भनेचाहिँ समाचारको विषय हुन्छ नै, तर सहमतिको विषय दाहालले स्मरण गरे भन्दैमा तुफान ल्याउने समाचार यो होइन । नेतृत्व परिवर्तन हुँदा पनि नेकपाभित्रबाटै हुने भएकाले यसले राज्यसञ्चालनमा ताŒिवक असर पार्ने ठाउँ देखिँदैन ।

बरु, तुफान नै चलाउने हो भने, दुई दलको सहमतिअनुसार एक जना अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो, त्यो कार्यान्वयन भएको छैन, यसलाई उठाउन सकिन्छ । नेकपाको सचिवालय र पोलिटब्युरोमा बहुमत नेताहरू सरकार र पार्टीको नेतृत्व एउटै व्यक्तिले लिन नहुने पक्षमा देखिएका छन्, तर उनीहरूको आवाज ओली र प्रचण्डले सुनेका छैनन् । दुवै दलभित्र आज पनि एमाले र माओवादीको भाव जीवित छ, दुई घरानाका व्यक्तिहरू एक–आपसमा पूर्णरूपले विश्वास गर्न सकेका छैनन् ।

सत्तामा रहने नेता–प्रशासकले पाउने भ्रष्टाचारको अंकले पनि कसैलाई बाहिर बस्न प्रेरित गर्दैन । यसकै पृष्ठभूमिमा ओलीलाई ‘पार्टीको अध्यक्षता छोड्नुभयो भने म त दल छोडेर अन्यत्रै लाग्छु’ भन्ने हदसम्मको घुर्की देखाउने संकीर्ण मनस्थितिका व्यक्ति रहेको बुझिएको छ । उता दाहाललाई ‘तपाईंलाई जिम्मेवारी नै नदिएर एमालेवालाहरूले ढाक्रे नै बनाए, चुप लागेर बस्नुहुन्न, हामी छौं’ भनेर उक्साउनेहरू छन् । पार्टी एकीकरण भयो मन एकाकार भएको छैन । तर दाम्पत्य जीवनमा बाँधिएका दुलहा–दुलहीहरू किन एक–आपसका उत्पत्ति र खानदान देखाएर अविश्वास गरिरहन्छन् छक्क लाग्छ । दम्पती नमिलेसम्म नयाँ सिर्जना सम्भव छैन भनेर किन नबुझेको ?