गोठभरि गाई, विदेशलाई बाईबाई 

0
Shares

नेपाल समाचारपत्र, पर्वत
अफगानिस्तानमा ५ र इराकमा ५ गरी १० वर्ष विदेशमा बिताएका दीपक शर्मा अहिले भैंसी र गाईगोठमा बिहान–बेलुका खट्नुहुन्छ।
श्रीमान् दीपक मात्रै होइन, श्रीमती शारदा पनि उत्तिकै खट्नुहुन्छ। वैदेशिक रोजगारीमा भन्दा स्वदेशमै केही गर्ने घरसल्लाहअनुसार फर्केपछि शर्मा दम्पतीले २ वर्षअघि ५ लाख लगानीमा पशु फार्म स्थापना गर्नुभएको छ।

शर्माको पशु फर्ममा अहिले ६ मुर्रा भैंसी र एउटा जर्सी गाई छन्। शुरूमा ५ लाख लगानी भए पनि भैंसी र गाई थप्दा अहिले लगानी करिब १५ लाख पुगिसकेको छ। ‘मुर्रा भैंसी खोज्न भारतै पुग्नुपर्दो रहेछ’, दीपकले भन्नुभयो– ‘उताबाट ल्याउँदा भैंसीमै धेरै खर्च भयो।’ एउटा भैंसीमा करिब डेढ लाख खर्च भएको उहाँले जानकारी दिनुभयो।
७ वटा वस्तुभाउको घाँसपानी, गोबरको व्यवस्थापन, सरसफाइदेखि दूध बिक्री सबै काम श्रीमान् र श्रीमतीले मात्रै गर्नुहुन्छ। पोखरा–बाग्लुङ राजमार्ग छेवैमा घर भएकाले दूध बिक्रीमा समस्या छैन। दीपक आफैंले दूध कुश्मा पु¥याएर घरघरै बिक्री गर्नुहुन्छ। ग्राहकको मागअनुसारका प्याकेट बनाएर घरघरै पु¥याउँदा २ घण्टा लाग्ने गरेको छ।
‘पहिला केही समय डेरीलाई दिएँ’, उहाँले भन्नुभयो– ‘त्यहाँ दिँदा राम्रो आम्दानी भएन, डेरीले प्रतिलिटर ६५ दिन्थ्यो, अहिले १ सयमा बेच्छु। दैनिक ५० लिटरसम्म दूध बिक्री गर्दा डेरीलाई दिन छाडेपछि दैनिक १५ सयसम्म बढी आम्दानी हुने गरेको छ।’

अर्मादी तरकारीका लागि पनि जिल्लाकै उर्वरभूमि हो। भिरालो जमिनमा गोठ भएकाले घरनजिकैको खेतमा गाईभैंसीको मलमूत्र पाइपबाटै जान्छ। मलमूत्रबाटै अर्गानिक तरकारी पनि फलाउनुभएको छ उहाँहरूले। तरकारीलाई पनि बजारको समस्या छैन। गाईवस्तुका लागि उन्नत जातको घाँस घरनजिकै पर्याप्त छ। घाँस लगाएको फाँटमा पनि भैंसी र गाईको मलमूत्र पाइपबाटै पठाएकाले समस्या छैन।

उहाँहरूका अनुसार व्यावसायिक पशुपालनमा लाग्दा शुरूमा केही झन्झट लागे पनि हिजोआज रुटिनमा काम गरेकाले कुनै समस्या छैन। ‘एउटा मात्रै समस्या छ, आफन्त र साथीभाइलाई समय दिन सक्दिनँ, कतै गएर एक रात बिताउन पाइँदैन। त्यसमा दुःखेसो छ’, शारदाले भन्नुभयो– ‘आलोपालो गर्ने मान्छे भइदिए अलि सहज हुन्थ्यो।’ उहाँहरूले वस्तुभाउको आकस्मिक क्षतिबाट जोगिन सबै भैंसी र गाईको बीमा गर्नुभएको छ।

विदेशबाट फर्किएर व्यावसायिक पशुपालन गरेका युवालाई प्रोत्साहन गर्न अनुदान दिने व्यवस्था भए पनि दीपक त्यस्ता अनुदानको खोजीमा कतै लाग्नुभएन।
‘हामी खोज्दै गएका छैनौं, कसैले ला भन्दै आएको पनि छैन। मलाई कतै जाने फुर्सद पनि छैन।’ अनुदानको पछि लाग्नेले कहिल्यै आफ्ना लागि काम गर्न नसक्ने उहाँको भनाइ छ।