प्रहरीले नै दिन थाल्यो प्रतिरक्षा तालिम 


नेपाल समाचारपत्र, काठमाडौं 
समाजमा बालबालिकामाथि हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न प्रहरीले आत्मरक्षाको तालिम सञ्चालन गरेको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले प्रहरी कार्यालय र विद्यालयमै पुगेर आत्मरक्षाको तालिम सञ्चालन गरेको हो। सम्भावित दुर्घटनाबाट कसरी जोगिने र दुर्घटना भएको अवस्थामा कहाँ कसरी खबर गर्ने भन्ने विषयमा प्रहरीले कलात्मकरूपमा विद्यार्थीलाई सिकाउने अभियान प्रभावकारी बनेको बताइएको छ।

‘प्रहरीसँग १ दिन’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई प्रहरीको बारेमा बुझाउनेदेखि लिएर सन्देशमूलक जानकारी दिएर समाजमा हुने सम्भावित दुर्घटनाको पहिचान र न्यूनीकरणको विधिसमेत सिकाउने गरिएको छ।

अनाथ बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ज्योतिको घर नेपालमा आश्रित ५२ जना विद्यार्थी निकै उत्सुकतासाथ महानगरीय प्रहरी कार्यालय रानीपोखरीभित्र प्रवेश गरे। उनीहरू निकै उत्सुक पनि थिए। कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा जान्नुपर्ने आधारभूत ज्ञानबारे बुझाइएको थियो। सामाजिक सञ्जालको बढ्दो प्रयोग र त्यसबाट हुने अपराधबारे महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले साइबर सुरक्षाबारे विद्यार्थीलाई सटिक ढंगले जानकारी गराउनुभएको थियो।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले ‘प्रहरीसँग १ दिन’ कार्यक्रम सहभागी भएका ज्योतिको घर नेपालका विद्यार्थीको जिज्ञासा राख्दै रोचक ढंगले प्रहरीको बारेमा बुझाउनुभयो। शुरूमै विद्यार्थीलाई प्रहरीको बारेमा प्रश्न गर्न आग्रह गर्दै उहाँले प्रहरी सबैको साथी भएको बताउनुभयो।

उहाँले अप्ठ्यारो पर्दा विद्यार्थीलाई १००, १०३ मा फोन गर्न आग्रह गर्दै आफूले चलाउने टेलिफोन नम्बर ९८५१२२००४ मा सम्पर्क गर्न जानकारी दिनुभयो। नागरिकको ज्यान बचाउने दायित्व र कर्तव्य प्रहरीको भएको उल्लेख गर्दै डीआईजी थापाले प्रहरीले भोकप्यास केही पनि नभनी रातदिन शान्ति सुरक्षामा खटिने गरेकाले गलत खबर नगरिदिन विद्यार्थीलाई आग्रह गर्नुभयो।

‘प्रहरीको काम शान्ति सुरक्षा गर्नु र समाजमा अमनचयन कायम राख्नु हो’, उहाँले भन्नुभयो– ‘बालबालिकालाई अभिभावकले त्रास देखाउनका लागि प्रहरी बोलाइदिनु भन्ने मनोविज्ञान गलत छ, अब विद्यार्थीले हटाउन जरुरी छ।’

विद्यार्थीलाई विपद्् व्यवस्थापन, साइबर क्राइम, दुर्घटना भएको अवस्थामा तत्काल खबर गर्ने नम्बरबारे प्रहरीले जानकारी गराएपछि विद्यार्थी दंग परेका थिए। आगलागी हुँदा र चट्याङ पर्दा कसरी बच्ने, नदीमा पौडी खेल्ने क्रममा दुर्घटना भएको अवस्थामा कसरी उद्दार गर्ने भन्ने विषयमा चेतनामूलक जानकारी दिइएको थियो।
कञ्चनजंघा इन्टिग्रेटेड मोडल स्कुल डल्लुमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी सृजन कार्कीले प्रहरीबाट धेरै कुरा सिक्ने अवसर पाएकामा खुसी व्यक्त गर्नुभयो। ‘धेरै कुरा सुनेका थियौं, तर दुर्घटना हुँदा के गर्ने, कसरी सुरक्षित बन्ने भन्ने विषयमा राम्रो ज्ञान प्राप्त ग¥यौं’ –उहाँको भनाइ थियो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण वज्राचार्यले विद्यार्थीलाई आत्मसुरक्षाका बारेमा प्रयोगात्मक रूपमा नै बुझाउनुभयो। उहाँले एक वर्षको अवधिमा मात्र १ हजार ४ सय ८० वटा बलात्कारको घटनाको तथ्याङ्क सुनाउँदै प्रहरी कार्यालयमा १२ हजार २ सय २५ घरेलु हिंसाको घटना दर्ता भएको बताउनुभयो। समाजमा महिलामाथि मात्र यौनजन्य हिंसा नहुने तथ्याङ्क प्रस्तुत गर्दै पुरुषमाथि पनि यौनजन्य हिंसा भएको वज्राचार्यले जानकारी दिनुभयो।

प्रहरीले विद्यार्थीलाई अपरिचित व्यक्तिले दिएको खानेखुरा नखाने, रातिको समयमा एक्लै नहिँड्ने, कसैले आक्रमण गर्न खोजेमा प्रतिरक्षा गर्नका लागि अनुहारलाई आक्रामक बनाउने, ठूलो स्वरमा चिच्याउने, बच्नका लागि अपराधीलाई हिर्काउने, तत्काल भाग्ने विधि प्रयोग गरेर सुरक्षित हुने जानकारी गराएको थियो।

‘संयमतापूर्वक उच्च मनोबलका साथ प्रतिवाद गर्दा एक मिनेटका कारण ज्यान बचाउन सकिन्छ’, एसएसपी वज्राचार्यले विद्यार्थीलाई भन्नुभयो– ‘आत्मविश्वास सबैभन्दा ठूलो कुरा हो, आफूलाई बचाउन प्रतिकार गर्नुपर्छ, दृढ मनोबल राख्दा जीवन बचाउन सकिन्छ।’ प्रहरीले विद्यार्थीलाई आत्मरक्षाका लागि प्रहरी कार्यालय र विद्यालयमा नै पुगेर सन्देशमूलक जानकारी सिकाउँदै आएको छ।

ज्योतिको घर नेपालका अध्यक्ष विजय लामाले प्रहरीले सञ्चालन गरेको ‘प्रहरीसँग १ दिन’ कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘विद्यार्थीलाई सम्भावित दुर्घटनाबाट बचाउने गरी प्रदान गरिने कार्यक्रम निकै व्यावहारिक लाग्यो।’

प्रहरीले विद्यार्थीलाई प्रहरी कार्यालयभित्र सम्पादन हुने १०० नम्बरको बारेमा जानकारी दिनुको साथै सीसी क्यामेराबाट हुने अनुगमन, कुकुरले कसरी अपराधी पत्ता लगाउँछ भन्ने विषयमा प्रयोगात्मक ज्ञान दिइएको थियो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरीसँग १ दिन कार्यक्रमअन्तर्गत प्रहरी कार्यालय र विद्यालयमा गरी १५ सयभन्दा बढी विद्यार्थीलाई जनचेतनामूलक जानकारी दिएको छ।