संविधानसभा संग्रहालय बनाउन सरकारको ध्यानाकर्षण


हेटौंडा, (नेस) ।

संविधानसभा सदस्य परिषद्, नेपालले संंविधान निर्माणका ऐतिहासिक चरणहरुको सम्पूर्ण दस्ताबेज, अडियो तथा भिडियो तथा भिडियो रेकर्ड संरक्षण एवम् नेपालको संविधान निर्माण प्रक्रियाको झलक प्रस्तुत गर्न आधुनिक सूचना प्रविधियुक्त अध्ययन कक्षसहित संविधानसभा संग्रहालय निर्माणका लागि संघीय संसद् तथा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

परिषद्ले शनिबार पे्रस विज्ञप्ति जारी गरी भावी पुस्तालाई संविधान र मुलभूत कानुनको आधारभुत ज्ञान दिलाउन कक्षा–९ देखि १२ सम्मका पाठ्यक्रममा नेपालको संविधान र मुलभूत कानुनका विषयहरु समावेश गर्न अनुरोध पनि गरेको छ ।

परिषद् संयोजक मकवानपुर नेकपाका युवा नेता अनन्तप्रसाद पौडेलले संविधान र कानुन निर्माणमा आठ वर्ष अविश्रान्त खटेका संविधानसभा सदस्यहरुलाई केन्द्र, प्रदेश र स्थानीय तहका कानुन निर्माणमा आवश्यक भूमिका प्रदान गर्न संघीय संसद् तथा नेपाल सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

नेपाली जनताको सात दशक लामो संघर्ष र बलिदानको प्रतिफलस्वरुप जनताद्वारा निर्धारित संविधानसभाको अथक मेहनत र प्रयत्नले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको चार वर्ष पुग्न लागिसकेको भन्दै विज्ञप्तिमा संविधान कार्यान्वयनका महत्वपूर्ण चरणहरु पार गर्दै संक्रमणकालीन तरलता एवम् अस्थिरताबाट मुलुक स्थिरतातर्फ अगाडि बढिसकेकोमा गर्व महसुस गरिएको छ ।

संविधान निर्माणको ऐतिहासिक युगीन कार्यभार सफलतापूर्वक सम्पन्न गरेका संविधानसभा सदस्यहरुलाई ‘संविधान निर्माण पदक’ द्वारा सुशोभित गरिएकोमा उहाँले नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभएको छ ।

संविधान संरक्षण, प्रवद्र्धन र विकासका साथै संविधानको पक्षपोषण, प्रचारप्रसार र संविधानवाद विकासका लागि आफ्नो तर्फबाट सकारात्मक र सिर्जनात्मक भूमिका निर्वाह गरेर संघीय संसद् र सरकारलाई आवश्यक परामर्श एवम् योगदन दिने उद्धेश्यले परिषद्ले आफ्नो भूमिका निर्वाह गरिरहेको पौडेलले बताउनुभयो ।

संविधानसभाको ऐतिहासिकतालाई अविछिन्न राख्न, युगीन महत्वको भूमिकालाई चिरस्थायी बनाउन र संविधानसभा सदस्यहरुको मर्यादा र हित प्रतिनिधित्व गर्न संविधानसभा सदस्य परिषद् नेपाल गठन भएर दर्ता भएको हो ।