मिडिया बिधेयक लोकतन्त्र माथिको हमलाः सभापति देउवा


पार्टीमा गुटउपगुट अन्त्य गर्न नेतृत्वलाई आग्रह

यमलाल भुसाल, बुटवल ।
नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध सरकारले ल्याएको मिडिया काउन्सील बिधेयक कुनै हालतमा पास हुन नदिने बताउनु भएको छ ।

२००७ सालदेखि प्राप्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने गरी ल्याईएको उक्त विधेयक प्रजातन्त्र माथिको हमला भएको बताउँदै सदन अवरुद्ध गरेर हुन्छ की के गरेर हुन्छ कुनै हालतमा पास हुन नदिने बताउनु भएको हो ।

नेपाली काँग्रेस रुपन्देहीले शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका मधवलीयामा आयोजना गरेको जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा सभापति देउवाले न्यायालय, मानव अधिकार आयोग, प्रेस लगायतका स्वतन्त्र निकायलाई हस्तक्षप गरि आफू अनुकुलका काममा लगाउने गरी बिधेयक ल्याएको उल्लेख गर्नुभयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र मानव अधिकार, न्यायालयमाथिको हस्तक्षप नेपाली काँग्रेसलाई स्वीकार्य नहुने बताउँदै स्वतन्त्र निकायलाई सरकारको मातहतमा ल्याउने काम भए प्रजातन्त्र नै समाप्त हुने भएकाले प्रजातन्त्र र लोकतन्त्रको रक्षाकालागि जस्तोसुकै कदम चाल्ने बताउनु भएको हो ।

उहाँले दुई तिहाईको कम्युनिष्ट सरकार एक दलिय तानाशाही सरकार बन्न खोजेकाले त्यस बिरुद्ध आन्दोलन गर्नुपर्ने परिस्थितीमा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।

सभापति देउवाले राणा, पञ्चायत र राजसंस्थालाई हटाएजस्तै गरी कम्युनिष्ट पनि लोकतान्त्रिक आचरणमा नरहे मुलुकबाट कम्युनिष्टलाई पनि समाप्त पारिदिने चेतावनी दिनुभयो । सरकारले हालै ल्याएको मुलुकको बजेट कार्यकर्ता पाल्नेगरी आएको बताउँदै जनताको करबाट संकलित राजश्वमा लुट गर्न नदिने बताउनु भयो ।

उहाँले बुद्धजन्मस्थल शान्तिको पवित्र भूमि रुपन्देही जिल्लाबाट पार्टीमा एकताको सुरुवात भएको बताउँदै पार्टी भित्र अन्तरघात गर्नेलाई कारवाही गरेर भएपनि घातप्रतिघातको अन्त्य गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री डा. सशांक कोईरालाले पार्टीभित्र फूट नहुने हो भने कुनै शक्तिले पनि काँग्रेसलाई हराउन नसक्ने बताउनु भयो । उहाँले पार्टीको आदर्श, संस्कार र कार्यकर्तालाई एकबनाउन सक्ने हो भने काँग्रेसजस्तो शक्ति अरु कुनै पनि हुन नसक्ने र मुलुकको बिकासको आधार पनि बन्न दावी गर्नुभयो ।

त्यस्तै केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टी सभापति देउवाको सरकारले प्रदेश पाँचको राजधानी बुटवल तोकेको स्मरण गर्दै बुटवलबाट राजधानी सार्ने काम भए त्यसकोलागि बलिदान दिनसमेत तयार रहेको बताउनु भयो ।

उहाँले कम्युनिष्ट पार्टीको सरकारले जनताका अधिकार खोसेर निरंकुश बन्न खोजेको आरोप लगाउँदै मुलुकलाई असफल राष्ट्रबाट जोगाउन ओली सरकारको पतन जरुरी रहेको बताउनु भयो ।

पार्टीका केन्द्रीय सदस्य शेखर कोईरालाले कुनैपनि कम्युनिष्ट मुलुकमा संघीयता नरहेको बताउँदै नेपालको कम्युनिष्ट सरकारले पनि मुलुकमा स्थापित संघीयतालाई असफल बनाउने काम गरेको आरोप लगाउनु भयो ।

उहाँले जनअपेक्षा अनुसार काम नगरेको र जनताका स्थापित अधिकारहरु कुण्ठित गर्ने काम गरेकाले सरकारलाई एक मिनेटपनि कुर्चिमा बस्ने अधिकार नभएको बताउनु भयो ।

पार्टी प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले सरकार जनभावना विपरित अंगाडी बढेको बताउँदै सरकारलाई सहि ट्याकमा ल्याउन काँग्रेसले भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

उहाँले एमालेको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवाद डिजेल र पेट्रोल भएको बताउनु भयो । उहाँले एमाले र माओवादी मिलेर बनेको नेकपामा डिजल र पेट्रोलको मिश्रेणले गाडीको ईञ्जिन सिज भएजस्तै बहुदलीय जनवाद र माओवादको मिश्रणले नेकपाको ईञ्जिन सिज हुने टिप्पणी गर्नुभयो ।

उहाँले विप्लवलाई मारेर नेपालमा जनगणतन्त्र नफस्टाउने भएकाले विप्लवलाई वार्ता र संवादका माध्यमबाट शान्तिको बाटोमा ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु दीपक गिरी, देवेन्द्रराज कंडेल, संघीय संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, संघीय सभा सदस्य प्रमोद यादव, प्रदेश पाँच सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री, महासमिति सदस्य तथा महिला संघ रुपन्देहीकी सभापति गंगा शाही, रुपन्देहीका पार्टी उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, सैनामैना नगर सभापति रामप्रसाद अधिकारी लगायतले पार्टी भित्र गुटउपगुटको अन्त्य गरि कार्यकर्तालाई एकताको सुत्रमा बाँध्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभएको थियो ।