भूकम्पको चार वर्षे किस्ता ६ प्रतिशतलाई मात्र !


नेपाल समाचारपत्र, पर्वत ।
भूकम्प गएको चार वर्ष बितिसक्दा पनि पर्वतमा अहिलेसम्म भण्डै ६ प्रतिशतले मात्रै तेस्रो किस्ताको रकम बुझेका छन ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरेको गुनासो व्यवस्थापन तथा पुनरावेदन कार्यविधिका सम्वन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा पर्वतको समग्र पुर्ननिर्माणको अवस्थाको बारेमा जानकारी दिईएको हो ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ, पूर्वाधार विकास तथा अनुदान व्यवस्थापन कार्यालय पर्वतका अनुसार पर्वतमा ५ हजार २६९ जना भूकम्पपीडिको नाम सूचीकृत रहेको छ । तीमध्ये ३०० जना लाभग्राहीले मात्र अन्तिम अर्थात् तेस्रो किस्ता बापतको रकम पाएका छन् । ‘कुल लाभग्राहीमध्ये ३०० जनाले मात्र अन्तिम किस्ता बुझ्नुभएको छ,’ कार्यालयका निमित्त प्रमुख वालदिप शर्माले भन्नुभयो ‘यो प्रभावितहरुमध्ये ६ प्रतिशत मात्र हो ।’

लाभग्राहीले अनुदान स्वरुप पाउने तेस्रो किस्ताको रकम बुझेपछि मात्र प्रभावितले आफ्नो घर पूरा गरेको मानिन्छ । उहाँका अनुसार पहिलो किस्ता लिनका लागि कुनै सर्त लागू नहुने भएका कारण ९३ प्रतिशत लाभग्राहीले रकम बुझेका थिए । तर, पहिलो किस्ता बुझ्नेको तुलनामा दोस्रो किस्ता बुझ्नेको संख्यामा ४६ प्रतिशतले कमी आएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेलले पुर्ननिर्माण कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिहरुलाई पनि आवश्यक सहकार्य गर्न आग्रह गर्दै घर बनाउन शुरु नगरेकालाई घर बनाउन र शुरु गरेकालाई समयमै बनाएर अन्तिम किस्ता लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्राधिकरणका सहसचिब मुकुन्द निरौला, पंैयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्राधिकरणका उपसचिब शंकरहरि आचार्यले समग्र पुर्ननिर्माणको अवस्था र गुनासा फछ्र्यौटको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन ईकाईका निमित्त प्रमुख बालदिप शर्मा, शिक्षाका प्रमुख खिमबहादुुर भुजेलले पुर्ननर्मिाणको अवस्थाका बारेका जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन बालकृष्ण शर्माले गर्नुभएको थियो ।