झारलको सुकुटीसहित पक्राउ परेका प्रहरी जवानविरुद्ध मुद्दा दायर


किरन धामी, दार्चुला ।
गत वैशाख दार्चुला जिल्ला सदुरमुकाम खलंगा स्थित नेपाल भारत जोड्ने झोलुंगे पुलमा चेकजाँचका क्रममा झारलको सुकुटी सहित पक्राउ परेका प्रहरी जवान विरुद्ध डिभिजन वन कार्यालय दार्चुलाले दार्चुला जिल्ला अदालतमा बिहीवार मुद्दा दायर गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को उपदफा ६ अन्र्तगत मुद्धा दायर गरिएको डिभिजन वन कार्यालय दार्चुलाका रेञ्जर रणेन्द्र सिहले जानकारी दिनुभयो ।

व्याँस गाउँपालिका वडा नम्बर २ राप्ला घर भई सुदुरपश्चिम प्रहरी गण धनगढीमा कार्यरत प्रहरी जावन सिकेन्द्र सिह धामीले गत वैशाख ८ गते व्याँस गाउँपालिकाको दुम्लिंगबाट २ किलो ६ सय ५० ग्राम झालर सुकुटी भारतको बाटो हुदै पुलबाट नेपाल ल्याउदै गरेको अवस्थामा पुलघाटमा खटिएको सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त गस्ती पक्राउ गरेको थियो ।

सुकुटी सहित पक्राउ परेका प्रहरी जवान धामीले सुकुटी खसीको भएको बताए पनि परिक्षण गर्दा झालरको प्रमाणित भएको उहाले जानकारी दिनुभयो । सुकुटी परिक्षणका लागी डिभिजन वन कार्यालय दार्चुलाले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला केन्द्र काठमाण्डौं पठाएको थियो । प्रयोगशालाबाट प्रमाणित भएर आए पछि प्रहरी जवान धामी विरुद्ध मुद्धा दायर गरेको उहाले बताउनु भयो ।

प्रहरी जवान धामीले सोधपुछका क्रममा केहि नबताए पनि प्रहरीकै ठुलै मान्छेका लागी सुकुटी बोकेको हुनुपर्ने स्थानियले आसंका गरेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको ईमेल ठेगाना (DPO Darchula) बाट जिल्लामा संचालनमा रहेका विभिन्न संचार माध्यम तथा केहि राष्ट्रिय मिडियाका मिडियाकर्मीहरुको इमेलमा सामान्य खालका सुचनाहरु आउने गरेकोमा महत्वपुर्ण सुचना र घट्नाहरु भने प्राप्त नहुने गरेको मिडियाकर्मीहरुले बताएका छन् ।

सुकुटी सहित पक्राउ परेका प्रहरी जवान धामी प्रहरीको नियन्त्रणमा छन् । उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्र्तगत ६ महिना कैद तथा २० हजार जरिवाना वा दुवै सजाय हुने उहाले जानकारी दिनुभयो ।