गणतन्त्र नरुचाउने तत्वको योजना सफल हुँदैन: अध्यक्ष प्रचण्ड


ओखलढुङ्गा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्र नरुचाउने तत्वको योजना सफल नहुने बताउनुभएको छ ।
ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकामा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै अध्यक्ष दाहालले शान्ति सम्झौताको विरुद्धमा केही समूह लागि परेको भए पनि त्यो सफल नहुने बताउनुभयो ।

गणतन्त्र प्राप्तिपछि सिङ्गो मुलुकको विकासले गति लिए पनि केही व्यक्ति र समूहका स्वार्थ पूरा नभएकाले त्यो शक्ति सक्रिय बन्न थालेको उहाँको भनाइ थियो । विप्लप नेतृत्व समूहका पछिल्ला गतिविधिलाई सङ्केत गर्दै अध्यक्ष दाहालले सरकारसँग वार्ता गरेर मूलधारको राजनीतिमा आएर मुलुक निर्माणमा जुट्न आग्रह गर्नुभयो ।

“केही व्यक्ति र समूहका सीमित स्वार्थ केन्द्रित अभियान चलाएर फेरि जनतालाई भ्रम नफैलाउनुस् । वार्ता र संवाद्का माध्यमबाट मूलधारमा आउनुस् म सरकार विरोधी भनिएका शक्तिलाई अनुरोध गर्दछु”, पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले भन्नुभयो, “अब नेपालमा कुनै युद्ध र आन्दोलन सम्भव छैन र आवश्यकता पनि होइन । कसैले त्यो सोचेको भए सफल हुँदैन ।” गणतन्त्र प्राप्तिपछि बनेको संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेकाले अब गरिने आन्दोलन रु तीन करोड नेपालीको भावना विपरीत हुने उहाँको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री दाहालले शहीद यज्ञबहादुर थापाकी धर्मपत्नी पूर्णकुमारी थापा सहितका शहीद परिवारसँग भेट गर्नुभएको थियो । शहीद परिवारका सदस्यलाई सम्बोधन गर्न सरकारलाई सुझाव दिने अध्यक्ष दाहालले आश्वासन दिनुभयो । उहाँले शहीद थापाको जन्मस्थानमा निर्माण गरिने पूर्णकदको सालिक शिलान्यास गर्नुभयो ।

कार्यक्रममा सङ्घीय प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले देशको राजनीतिक परिवर्तन शहीदको बलिदानीबाट प्राप्त भएको बताउनुभयो । शहीदको सपना पूरा गर्दै योद्धाको योजनामा समृद्धिको यात्राअघि बढिरहेको उहाँको भनाइ थियो । प्रदेश सभासद अम्बिरबाबु गुरुङले गणतन्त्रले स्वतन्त्रता र सार्वभौमता दिलाए पनि नागरिक खानेपानीको पहुँच बाहिर रहेनुपरेको अवस्था सुनाउनुभयो ।

कार्यक्रममा पूर्व कानूनमन्त्री तथा काङ्ग्रेस नेता यज्ञबहादुर थापा, पूर्व सांसद रामहरि खतिवडा, हर्कबोल राई, केशव राई लगायतले क्याप्टेन यज्ञबहादुर थापा देशका शहीद भएको भन्दै राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।
रासस