वडा कार्यालयको तालाबन्दी तीन दिनपछि खुल्यो


विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ को कार्यालयमा सोमवारदेखि गरिएको तालाबन्दी बुधवार खुलेको छ । विभिन्न माग राख्दै नेपाली कांग्रेसले गरेको तालाबन्दी पाँच बुदे सहमतीपश्चात खुलेको हो ।

योजना तर्जुमा गर्दा छुटेका योजनाहरु समाबेश गर्ने, खेलाडीहरुको पुरस्कार खेलका कप्तानलाई बोलाई वितरण गर्ने र सिफारिसको सम्बन्धमा भेदभाव नगरी सिफारिस दिने सहमती भएको छ ।

यस्तै अपूर्ण भौतिक निर्माणका योजनाहरु सुचारुका लागी पहल गर्ने र वार्ड कार्यालय सम्बन्धमा अरु भवन पाइएका खण्डमा अन्यत्र स्थानमा सार्ने सहमती भएको नेपाल तरुण दल बैतडीका कोषध्यक्ष धर्मानन्द जोशीले जानकारी दिनुभयो । वडा कार्यालयका तर्फवाट वडा अध्यक्ष लक्ष्मीदत्त जोशी र नेपाली कांग्रेसका तर्फवाट कांग्रेसका प्रतिनिधि गोपाल सिंह कार्कीबिच भएको उक्त सहमती दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र बहादुर कार्कीको रहोवरमा भएके हो ।

यसअघि दोगडाकेदार गाउँपालिका वडा नं ६ का गुनासाहरु रहेको भन्दै कांग्रेस गाउँकमिटिले सोमवार वडा कार्यालयमा तालाबन्दी गरेको थियो । तर बुधवार वडाअध्यक्षले जबरजस्ती रुपमा सहमती बिना ताला तोडेपछी मंगलवार पुन कांग्रेसले वडा कार्यालयमा तालाबन्दी गरिएको थियो ।

योजना तर्जुमा गर्दा गर्दा गाँउ तथा टोल भेला नगराइकन एकलौटी रुपमा गरेको, उपभोक्ता समिति गठन पनि आमभेला नगराइकन एकलौटी रुपले गरेको ,साथै चालु आर्थिक बर्षका योजनाहरु पनि अझै सम्पन्न हुन नसकेको र असारे प्रवृति दोहोरिने भन्दै स्थानीयको गुनासोपछी कांग्रेसले तालाबन्दी गरेको थियो ।

यसका साथै गत बर्ष गाउँपालिकामा सम्पन्न अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता भएको १ लाख २ हजार रुपैंया पनि खेलाडीहरुलाई नदिएको, वडा अध्यक्ष लक्ष्मीदत्त जोशीले आफ्नै ढंगले वडा कार्यालय भवन आफ्नै घरमा राखी गाउँपालिकाको बजेटवाट आफ्नो घर मर्मत गरी मासिक भाडा लिने गरेको र मन्त्रालयवाट योजना माग गर्न वडावाट सिफारिस माग्दा समेत नदिएको गुनासो रहेको थिायो ।