मेयर कप क्रिकेट शुरु, खलंगाको विजयी सुरुवात


विनोद सिंह विष्ट, बैतडी ।
गणतन्त्र दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि दोस्रो संस्करणको मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । दशरथचन्द नगरपालिको आयोजना तथा नगर क्रिकेट समितिको व्यवस्थापनमा उक्त प्रतियोगिता सञ्चालन भएको हो ।

निंगलाशैनी खेल मैदान देहिमाडौंमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा वडा नं ७ दुर्गास्थानलाई २५९ रनले पराजित गर्दै वडा नं ४ खलंगाले विजयी सुरुवात गरेको छ । टस हारेर व्याटिंगको निम्ता पाएको खलंगाले २० ओभरमा २ विकेटको क्षतीमा ३२८ रन बनायो । यो उक्त मैदानको अहिलेसम्म भएको टि ट्वान्टी क्रिकेट प्रतियोगिताकै उच्च स्कोर हो यसअभि बिडीसिए कपमा निंगलाशैनी क्रिकेट क्लव एनसिसिले ३०४ रन बनाएको थियो ।

यो स्कोरसंगै एनसिसिको उक्त रेकर्डलाई खलंगाले तोडेको छ । उच्च स्कोर बनाउनमा खलंगाका सुनिल कार्कीले प्रतियोगितामा पहिलो सतक हिर्काएका छन् । उनले ५० बलमा १४ चौका र ६ छक्काको मद्दतमा १०५ रन बनाएका हुन्।

यस्तै लोकेस चन्दले ३७ बलको सामना गर्दै अविजित ९० रनको पारी खेले । राजु भाटले ५५ तथा कप्तान मोहित भण्डारीले अविजित २५ रन बनाए । दुर्गास्थानका लोकेश बडु र यज्ञराज बडुले समान एक एक विकेट झारे । ३२९ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दुर्गास्थान ६९ रनमा समेटियो । दुर्गास्थानका बसन्त बडुले सर्वाधिक २९ रन बनाए ।

खलंगाका प्रदिप चन्द र चक्र चन्दले दुई दुई विकेट हात पारे । खेलका म्यान अफ द म्याच खलंगाका लागी सतक प्रहार गर्ने सुनिल कार्की भएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिनुभयो ।

यसअघि प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको थियो । नगर क्रिकेट समितिका संयोजक रमेश भट्टको अध्क्षतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट प्रमुख अतिथी रहुनुभएको थियो । कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।
जेठ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार पुरस्कार पाउनेछ ।