पर्वतारोहीद्वारा तीन विद्यालय निर्माण


हेटौंडा ।
सगरमाथा आरोहण गरेका विदेशीले भुकम्पप्रभावित मकवानपुरका तीन विद्यालयका लागि भवन निर्माण गरेका छन् ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिका–९, भैरुङ दोभानस्थित ज्ञानोदय आधारभुत बिद्यालय, वडा–१०, मन्थलीको सरस्वती आधारभुत विद्यालय र वडा–११, ठिंगनको लालकिरण आधारभुत विद्यालयलाई दुई÷दुई कोठे भवन निर्माण गरिएको हो ।

बेलायती पर्वतारोही रोरी म्याकहुज र बर्नी एङ्गोलाले भवन अभाव झेलिरहेका मकवानपुरको विद्यालयमा भवन निर्माण गरी सहयोग गर्नुभएको हो । भैरुङ दोभानस्थित ज्ञानोदय आधारभुत विद्यालयमा निर्मित भवन बुधबार हस्तान्तरण गरिएको छ । १६ लाखमा निर्मित पक्की भवनको बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल र पर्वतारोही म्याकहुज र एङ्गोलाले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । पर्वतारोही म्याकहुज र एङ्गोलाले सन् २०१७ मे २६ मा सगरमाथा आरोहण गर्नुभएको थियो ।

विद्यालय अध्यक्ष दुर्गाबहादुर घलान र प्रधानाध्यापक रामकिशुन शाहले भवन निर्माणले सहयोग पुगेको बताउनुभयो । विद्यालयमा ६३ बालबालिका छन् । उनीहरु सबै तामाङ समुदायका हुन् ।

पर्वतारोहीहरुले विद्यालय भवन निर्माण गर्न एस्थर बेञ्जामिन मेमोरियल फाउण्डेशन संस्थामार्फत् आर्थिक सहयोग गरेका थिए । दुई कोठे भवन निर्माण गर्न प्रतिविद्यालय १६ लाख सहयोग उपलब्ध गराइएको एस्थर बेञ्जामिन मेमोरियल फाउण्डेशन मकवानपुर कार्यक्रम व्यबस्थापक बुद्ध लामाले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा संस्थाले शौचालय, डेक्सबेञ्च निर्माण र प्रारम्भिक बालविकास केन्द्रका लागि सामग्री गरी थप ७ लाख ५० हजार रुपियाँसमेत सहयोग गरेको छ ।