‘अब रगत होइन, श्रम र पसिना’


हेटौंडा ।
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले अविकास, पछौटेपन र गरिबीको दुष्चक्रबाट मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशका रुपमा स्थापित गर्न श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ–अब रगत होइन, देशले श्रम र पसिना खोजेको छ । सही योजना निर्माण र व्यबहारिकरुपमा योजना कार्यान्वयनको दृढता खोजेको छ । को सत्तापक्ष, को प्रतिपक्ष, पार्टी, जातजाति, धर्म, सम्प्रदायभन्दा माथि उठेर समृद्धिको अभियानमा सबैको एकीकृत प्रयत्न खोजेको छ ।

उहाँले ‘२००७ मा राणाशासन अन्त्यका लागि शुरु भएको आन्दोलनदेखि निरंकुश पञ्चायती व्यबस्थाविरोधी आन्दोलन, बहुदलीय प्रजातन्त्र स्थापनादेखि हालसम्मका जनताको हरेक आन्दोलनको समष्टीरुप गणतन्त्र हो’ भन्दै राणाशासन अन्त्यदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति हार्दिक श्रद्धासुमन एवम् सम्मान व्यक्त गर्नुभयो ।

‘हामी सबैको तर्फबाट ती महान् शहीदले देखाएको बाटोमा अविराम अविचलितरुपमा लाग्ने संकल्प गर्दछौं,’ गणतन्त्र दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा उहाँले सरकारका सामु अनेक अवसर र चुनौती रहेको बताउनुभयो ।

शून्य अबस्थाबाट कार्यालय एवम् कर्मचारी व्यबस्थापन, ऐन कानुनको प्रवन्ध गर्दै एक वर्ष समयमा प्रदेश सरकारले जेजस्ता योजना र कार्यक्रमहरु अघि सारेको छ, यसबाट प्रदेश सरकारप्रति विस्तारै जनताको विश्वास र अपनत्व बढेको महसुस गरिएको उहाँको भनाइ छ ।
मुख्यमन्त्री पौडेलले हातमा सीप र पाखुरीमा बल भरिएका हजारौं युवालाई राष्ट्र निर्माणको महाअभियानमा जोड्न सकिए ‘सुखी नेपाली–समृद्ध नेपाल’ निर्माणको राष्ट्रिय संकल्प पूरा गर्न सकिने उल्लेख गर्नुभयो ।

‘लामो समयदेखि देशमा विद्यमान राजनीतिक अस्थिरता अन्त्य भएको छ । नेपालको संविधानले व्यबस्था गरेबमोजिम तीनवटै तहका सरकार गठन भएर क्रियाशील छन्,’ उहाँले विकास र समृद्धिको युगको आरम्भ भएको र जनतासामु गरिएका प्रतिवद्धताहरु नीति, योजना र कार्यक्रम तर्जुमामा केन्द्रित गरिएको दाबी गर्नुभयो ।

जनतामा नवीन आशा र उत्साह सिर्जना भएको भन्दै उहाँले नेपाल बन्छ, बनाउन सकिन्छ र गरे सम्भव छ भन्ने आत्मविश्वास जागेको बताउनुभयो । ‘विगतको सन्दर्भबाट शिक्षा लिँदै उज्यालो भविष्य निर्माण गर्ने दायित्व र अवसर हाम्रो सामुन्ने छन् । यस अवसरमा देश र नागरिकप्रतिको दायित्व पूरा गर्न प्रदेश सरकारका तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो ।

भ्रष्टाचारप्रतिको शून्य सहनशीलता, योजना कार्यान्वयमा चुस्तता, सबै तहका राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन सम्झौता र सोहीअनुसार मूल्यांकन पद्धति, प्रशासनिक कार्यहरुमा हुने ढिलासुस्ती अन्त्य, प्रविधिको उच्चतम् उपयोग, जनतामा सामाजिक सुरक्षा प्रत्याभूति, कानुनी तथा नीतिगत स्पष्टता, उद्योग एवम् लगानीमैत्री वातावरण, वैज्ञानिक भूउपयोग नीतिलगायत विषयलाई उच्चतम् प्राथमिकता दिँदै प्रदेश सरकार अघि बढेको मुख्यमन्त्रीले बताउनुभयो ।

कार्यक्रमा प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले शहीदहरुको योगदानको कदर भए÷नभएको मूल्यांकन गरिनुपर्ने बताउनुभयो । प्रदेश प्रमुख अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशका मन्त्री तथा विशिष्ठ व्यक्तित्वको उपस्थिति थियो ।