बैतडी कारागारबाट दुई कैदी छुटे


विनोद सिंह विष्ट, बैतडी ।
गणतन्त्र दिवसको अवसरमा आज बैतडी जिल्ला कारागारबाट २ जना कैदीको कैद माफी गरिएको छ । कारागार कार्यालय बैतडीका जेलर अनिल तिवारीका अनुसार गणतन्त्र दिवसको अवसरमा बैतडी कारागारबाट एकजना सवारी ज्यान मुद्धाका र एकजना गर्भपतन मुद्धाका कैदीको कैद माफी गरिएको हो ।

कैद माफी हुनेहरुमा सवारी ज्यान मुद्धाका झिमरुक गाउँपालिका ६ प्युठानका डोर बहादुर नगरकोटी र गर्भपतन मुद्धाका शिवनाथ गाउँपालिका ३ बैतडीका वीर सिंह साँउद रहेका छन् । नगरकोटीलाई २ बर्षको लागी २०७४ साल फागुन २८ गते कैद सजाय भएकोमा उनले ५८ प्रतिशत कैद भुक्तान गरिसकेको छ । यस्तै साँउदलाई पनि २ बर्षको लागी २०७४ फागुन ७ गते कैद सजाय भएकोमा उनले ६१ प्रतिशत कैद भुक्तान गरिसकेको जेलर तिवारीको भनाई रहेको छ ।

मन्त्रिपरिषद्को जेठ १० गतेको निर्णयानुसार १२ औँ गणतन्त्र दिवसको अवसर पारेर आज असल चालचलन भएका र कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीलाई कैद माफी गरिएकोमा बैतडी कारागारबाट २ जना कैदीको कैद माफी भएको हो ।

सरकारको प्रत्येक वर्ष गणतन्त्र दिवसका दिन कैदीहरूको आचरणका आधारमा बाँकी कैद मिनाहा गर्ने चलन अनुसार देशभरबाट कुल ४३४ कैदीले माफी पाएका छन् ।