एक हजार १ सय ११ मध्ये ३ सय ११ जनाले किन लिएनन् सरकारी पदक ?


काठमाडौं । संविधानसभाबाट संविधान बनाउन भूमिका निर्वाह गरेको भन्दै ८ सय पूर्व सभासद्हरूलाई संविधानसभा पदक प्रदान गरिने भएको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको संबिधानसभा पदक प्राप्त गर्नेको नामावली सार्वजनिक भएकालाई हिजो साँझ ५ बजेसम्मका म्याद दिएकोमा ८ सय जनाले नाम दर्ता गराएको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख (सह सचिव)महादेव पन्थले न्यूज अफ नेपाललाई जानकारी दिएका छन ।

गृह मन्त्रालयको विभूषण शाखामा परिचयपत्रसहित सम्पर्क गरी प्रवेशपत्र लिन गृह मन्त्रालयले गएको बुधबार सूचना जारी गरेको थियो । प्रवेशपत्र लिनका लागि बिहीबारबाट मंगलबारसम्मको समय तोकिएको थियो ।

मन्त्रालयले सार्वजनिक गरेको संबिधानसभा पदक प्राप्त गर्ने एक हजार १११ जनाको नामावली सार्वजनिक गरेकोमध्ये ८ सय जनाले मात्र नाम दर्ता गराएका हुन् । मन्त्रालयद्वारा प्रकाशित सूचनामा ३ नम्बर पोसाकमा सभासद्हरूलाई उपस्थित हुन भनिएको छ ।

सुशोभन समारोहमा दुई चरणमा पदक बितरण गर्न लागिएको हो । बिहान ७ बजेदेखि क्रमसंख्या अनुसार ५५० सम्मलाई पदक बितरण गर्न लागिएको हो । यस्तै दिउँसो २ बजेदेखि ५५१ देखि एक हजार १११ नम्बरका सबैलाई पदक बितरण गर्न लागिएको बिभुषण शाखाले जनाएको छ ।

पहिलो चरणमा समावेश हुनेहरु बिहान सवा ७ बजेभित्र र दोस्रो चरणका लागि सवा १ बजेभित्र राष्ट्रपति कार्यालयमा पुगिसक्न भनिएको छ । तोकिएको समयभित्र आइपुग्नु भनेर सूचना नै जारी गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार (जेठ १६ गते) राष्ट्रपति कार्यालयमा ११११ जनालाई संविधानसभा पदकबाट विभूषित गर्ने कार्यक्रम तय भएको छ । संविधानसभा पदक, २०६४ साल र २०७० सालका संविधानसभाका सांसदहरूलाई वितरण गर्न लागिएको हो ।

एक हजार १११ जनालाई पदक दिने तयारी गरे पनि ३८३ जनाले यो पदक नलिने निर्णय गरेका छन् । जसमध्ये केही मधेसी जनअधिकार फोरम र राजपाका सभासदहरु पनि छन् ।