वडाध्यक्षको काममा सांसदको मरिहत्ते

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं
संघीय संसद्मा आज बजेट प्रस्तुत हुँदै छ । वितरणमुखी बजेट आउने चर्चा भइरहेका बेला बजेटको धेरै पाटोमध्ये सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न कति रकम पाउँछन् भन्ने एउटा विषय आम चासो बनेको छ । आफ्नो निर्वाचन क्षेत्रका लागि ४ करोड रुपियाँ लिइरहेका सांसदहरुले यो वजेटमा अझ बढाएर रकम पाउनुपर्ने माग गरिरहेका छन् ।

सांसदलाई वितरण गरिएको यसअघिको रकमको सही सदुपयोग नभएको गुनासो आइरहेका बेला स्थानीय निकायका जनप्रतिनिधिले समेत नीतिनियम बनाउने सांसदलाई विकास बजेट दिन नहुने बताएका छन् । आवश्यकताअनुसार स्थानीय तहलाई नै विकास बजेट बढाउनुपर्ने भन्दै ती जनप्रतिनिधिले वडा अध्यक्षले गर्ने काम गर्न विधायकहरु किन मरिहत्ते गर्छन् भनी अचम्म पनि मानेका छन् ।

‘सांसदलाई बजेट दिने कुरा राजनीतिमा सिन्डिकेट प्रयोग गर्नको लागि हो’, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र भन्नुहुन्छ– ‘सांसदलाई आफ्नो निर्वाचन क्षेत्र विकासका लागि भन्दै बजेट वितरण गरिनु भनेको भद्दा र लज्जास्पद प्रयोग पनि हो ।’ मुलुकको नीतिनियम बनाउनुपर्ने सांसदहरु विकास बजेट लिएर कहाँ उपभोक्ता समिति बनाउने अनि कसलाई अध्यक्ष बनाउने भन्दै वडा अध्यक्षले गर्ने काम गर्दै हिँड्नु अर्को लज्जाको विषय भएको उहाँको भनाइ छ । उहा थप्नुहुन्छ– ‘यस्तो वडा अध्यक्षले गर्ने काम विधायकले गर्नुहुन्छ ? ।’

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन पनि सांसदलाई विकास बजेट वितरण गर्न नहुने बताउहुन्छ । ‘सांसदलाई विकास वजेट दिने नीति भनेको कार्यकर्ता पाल्ने नीति हो’, महर्जन भन्नुहुन्छ– ‘विकास निर्माण गर्ने मुख्य काम स्थानीय तहको हो, सांसदको नीति निर्माण गर्ने हो ।’ हालै निर्वाचनबाट दोस्रोपटक प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीले समेत विधायकको काम विधान बनाउने, नीति निर्माण गर्ने भएकाले त्यसैमा क्रियाशील हुनुपर्ने बताएको हालैको स्मरण गर्दै गोदावरी नगरपालिकाका प्रमुख महर्जन भन्नुहुन्छ– ‘अहिले संघीय संसद् भइसकेको छ, अझै थुप्रै ऐन कानुन बनाउन बाँकी छ सांसदहरुले त्यसमा ध्यान दिनुपर्छ ।’

सांसदलाई विकास बजेट आवश्यक छ कि छैन भन्नेबारेमा पनौती नगरपालिकाकी उपप्रमुख गीता बञ्जारा यसअघि सांसदलाई दिएको रकम दुरुपयोग भयो भन्ने गुनासो आएकाले अहिले विवाद भइरहेको बताउँदै पहिले नीति नै स्पष्ट बनाउनुपर्ने भन्नुहुन्छ । सांसदलाई बजेट वितरण गर्नुभन्दा स्थानीय तहलाई नै विकास बजेट बढाउनु राम्रो भएको सूर्य विनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतको भनाइ छ । सांसदलाई भन्दा पनि विकास बजेट स्थानीय तहलाई बढाउँदा राम्रो हुने कोन्ज्योसोम गाउँपालिकाका प्रमुख गोपीलाल सिङ्तन बताउनुहुन्छ ।