फेसबुक पेज बनाई ठगी गर्ने पक्राउ

0
Shares

काठमाडौं । महानगरीय अपराध महाशाखाले फेसबुक पेज बनाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौं उपत्यकाका बिभिन्न मुख्य स्थानहरुमा रुम तथा फल्याटहरु खाली छन्, तर हेर्नका लागि रकम चाहिने भन्दै ठगी गर्ने रामचन्द्र भट्टराईलाई आइतबार पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

प्रहरीका अनुसार भट्टराईले विगत केही समय देखि काठमाण्डौ उपत्यकाभित्र सामाजिक संजालमा “Room and flat on rent in kathmandu” भन्ने फेसबुक पेज खोली उक्त पेजमा आफ्नो सम्पर्क नम्बर नै राखेर ग्राहकहरुलाई रुम तथा फल्याट हेर्नु अगाडी सेवा शुल्क वापत एक हजार पाँच सयदेखि चार हजारसम्म लिने गर्दै आएका थिए ।

भट्टराईले ग्राहकसँग रकम भने आफ्नो आइएमई पे वालेट र इसेवामा जम्मा गर्न लगाउने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार ग्राहकबाट रकम लिइसकेपछि भट्टराईले सम्पर्क बिहिन भई ठगि गर्ने गर्दै आएका थिए ।

महाशाखाले साल्पा सिलिछो गाउँपालिका–९, कुलुङ भोजपुर घर भई हाल चन्दननाथ नगरपालिका–४ खलंगा, जुम्ला बस्ने भट्टराईलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

प्रहरी अनुसन्धानमा भट्टराईले उपत्यकाका करिब २५० भन्दा बढी ब्यक्तीहरुबाट आइएमई पे वालेट र इसेवामा रकम जम्मा गराउन लगाई अन्य ब्यक्तीहरुको कागजपत्रहरु अनाधिकृत रुपमा दुरुपयोग गरि खोलिएको बिभिन्न बैंकखाताबाट रकम निकाल्ने गरेको समेत खुलेको छ ।

महाशाखाले भट्टराईको साथबाट एसर कम्पनीको ल्यापटप, डेल लेखेको कालो झोला, बिभिन्न कम्पनीको २ थान मोबाईल, पेन ड्राईभ, बिभिन्न बैंकको पाँच थान चेकबुक, बिभिन्न बैंकको पाँच थान एटीएम कार्ड बरामद गरेको छ ।