सार्वजनिक जग्गा खाली गराउन बिद्यालयलाई नगरपालिकाद्धारा पत्राचार


यमलाल भुसाल, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ मा रहेको सिद्धार्थ बोर्डिङ् स्कुलले अतिक्रमण गरि कम्माउण्डिङ् गरेको सार्वजनिक जग्गामा संरचना नबनाउन तथा खाली गराउन नगरपालिकाले पुनः पत्राचार गरेको छ ।

नगरपालिकामा गठित नगरको सार्वजनिक जग्गा संरक्षण समितिले गरेको नापजाँचको सिफारिसका आधारमा उक्त बोर्डिङ्ले चर्चेको घोलाको सार्वजनिक जग्गा छुट्याएर त्यस्तो जग्गामा पूर्वाधार निर्माण नगर्न र खाली गराउन एक महिना अंगाडी पत्राचार गरिएको वडा अध्यक्ष दिवाकर ढकालले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिका वडा नं. ४ वडा कार्यालयले उक्त बोर्डिङ्लाई कम्पाउण्डिङ् वाल हटाउन र सार्वजनिक जग्गा खाली गराउन पत्राचार गर्नुका साथै नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत बोदार्थ दिएको छ ।

त्यसो त साविक शंकरनगर गाउ बिकास समितिको कार्यालयले पनि उक्त बोर्डिङ्लाई ६ असोज २०७० मा सार्वजनिक जग्गा सहित व्यक्तिका जग्गा समेत हडपेर कम्पाउण्डिङ्वाल गरेको निवेदनको आधारमा नापी कार्यालयबाट प्राबिधिक अमिन ल्याएर गाबिसको रोहवरमा जग्गा छुट्याउन र जग्गा नछुट्याउँदासम्म निर्माण कार्य रोक्न पत्राचार गरेको थियो ।

त्यसवेला गाबिसको पत्राचारलाई वेवास्ता गरि कम्पाउण्डिङ्वाल गर्ने काम पुरा गरेको सिद्धार्थ बोर्डिङले व्यक्तिका जग्गा समेत मिचिएकाले वडामा पुनः निवेदन दिएका थिए । त्यसैका आधारमा वडा कार्यालय र नगरको सार्वजनिक जग्गा संरक्षण समितिले प्राबिधिक अमिन ल्याई बोर्डिङ्ले अतिक्रमण गरेको जग्गामा किला गाडेको छ । सार्वजनिक जग्गा संरक्षण समिति तिलोत्तमाका संयोजक एचपि रम्तेलका अनुसार उक्त बोडिङ्ले भोगचलन गर्दै आएको करिव १२ कट्ठा सार्वजनिक जग्गामा किल्ला गाडेर वडालाई जानकारी गराएको हो ।

बोर्डिङ्का अध्यक्ष रामलाल श्रेष्ठले बिद्यालयको पुर्जावाला जग्गा बाहेक पछाडीपट्टी रहेको व्यक्तिले भोगचलन गर्दै आएको अन्दाजी १२÷१३ कट्ठा जग्गा किनेको बताउनु भयो । उहाँले सधियारमा रहेको घोलाको जग्गा आफूहरुले अलिकति भएपनि च्याप्न पाईन्छकी भनेर सधियारले वडामा निवेदन गरेको हुन सक्ने समेत आरोप लगाउनु भयो । ‘हामीले ७ जना किसानसंग किनेका हौं, सरकारी प्रमाण त नपुग्ला तर हामीले किनेका हौं, हामीसंग प्रमाण छ ।’ बिद्यालय सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘नगरपालिकामा नयाँ नापी सुरु भएको छ, दर्ता नभएको जग्गा भएकाले हाम्रो नाममा आउला नआउला त्यो वेग्लै कुरा हो ।’

साविक गाबिसले गरेको पत्राचारकै कारण बिद्यालयले स्थायी संरचना नबनाएको बताउँदै उक्त जग्गामा खेलकुदका कार्यक्रम मात्रै गरिएको उहाँले बताउनु भयो ।
पछिल्लो समयमा तिलोत्तमा नगरपालिकाले जग्गाको पुनः नापी सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले पहिले आफ्नो जग्गाको छेउछाउमा रहेका सार्वजनिक जग्गा नदि तथा खोला उकास जग्गामा तारबार गर्ने पूर्वाधार निर्माण गर्ने र त्यसको स्वामित्व व्यक्तिले लिने गरेको बताउँदै अव त्यसो गर्न कसैले पनि नपाउने बताउनु भयो । ‘त्यस्ता जग्गा अव कसैले पनि उपभोग गर्न पाउँदैन, हामी खाली गराउँछौं ।’ उहाँले भन्नुभयो ।