कागेश्वरीमा भेटियो मृत चितुवा


काठमाडौं, (नेस) ।
काठमाडौंको कागेश्वरी मनोहरामा एउटा चितुवा (कमनलियोपार्ड) मृत अवस्थामा फेला परेको छ । विद्युतिय ट्रान्समिटरमा च्यापिएको अवस्थामा फेला परेको चितुवा करेन्ट लागेर मरेको हो ।

मंगलबार विहान सबेरै कागेश्वरी महोहरा नगरपालिका–१ गागलफेदीको ट्रान्समिटरमा चितुवा च्यापिएको देखेपछि स्थानीयले वनकर्मी र सुरक्षा निकायलाई खवर गरेका थिए । ‘खवर आए लगत्तै हामी उद्धारका लागि पुग्यौ तर चितुवा मरिसकेको रहेछ’–गोकर्ण सब डिभिजन कार्यालयका सहायक वन अधिकृत अरुणकुमार गुप्ताले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

चितुवाको शरिरमा कहिँकतै चोटपटक नदेखिएकाले करेन्ट लागेर मरेको ठहर गरिएको उहाँले बताउनुभयो । साढे ५ फिट लम्बाईको पोथी चितुवा १ वर्ष उमेर आसपासको भएको अनुमान गरिएको छ ।

मृत चितुवालाई स्थानीयको रोहवरमा गोकर्ण वन कार्यालय परिसरमा गाडिएको छ । घटनास्थल नजिकै ईश्वरी सामुदायिक वन समुह रहेकाले सो वन हुँदै चितुवा आहराको खोजीमा वस्ती पसेको आशंका गरिएको छ ।