आजबाट ताताेपानी नाका खुल्याे


काठमाडाैं । ०७२ काे भूकम्पपछि चारवर्षसम्म बन्द भएकाे ताताेपानी नाका मंगलबारबाट संञ्चालनमा आएकाे छ । आज बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेकाे हाे ।

सोमबार दश जना लोडर र कन्टेनरलाई नाकाकाे पास दिइए पनि चीन पक्षबाट सहमतिको खबर आएपछि नाका सञ्चालन गरिएकाे भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।

नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडक हुँदै खाली कन्टेनर गएका हुन् । बुधवार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको संकेत दिँदै सो सामाग्री राजधानी पुर्‍याइनेछ ।

नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइनेछ ।

नाकाबाट बर्सेनी १५ हजारभन्दा बढी पर्यटक नेपाल–चीन आउनेजाने गर्थे । वर्षेनी २० अर्बको आयात र ३ अर्बको निर्यात हुने नाकामा बल्ल चहलपहल सुरु हुन थालेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए ।