सदनमा घोचपेचः ‘ती जनता हैनन् अपराधी हुन्’


गंगा बराल, काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा एक अर्काबीच घोचपेच भएको छ । गृहमन्त्री रामबहादुर थापा, सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुबीच घोचपेच भएको हो । पछिल्लो शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्रीले जवाफ दिइसकेपछि जवाफ चित्त नबुझेको भन्दै कांग्रेस सांसदहरुले पुन ः प्रश्न गरेका थिए ।

गृहमन्त्रीले आइतबारको घटनामा मृत्यु हुनेहरु सर्वसाधारण नागरिक नभएको र विप्लव नेतृत्वको माओवादी कार्यकर्ता नै भएको बताएपछि कांग्रेसका सांसदहरुले गृहमन्त्रीको विरोध गरेका थिए ।

‘ती सामान्य नागरिक होइनन् भन्ने नै भनाइ हो, ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो’, गृहमन्त्रीले भन्नुभयो–दुई ठाउँकै घटनामा बम बनाउने क्रममा प्राविधिक त्रुटी भएकाले ज्यान गएको अहिलेसम्मको अनुसन्धानबाट पुष्टि भएको छ । ती व्यक्तिहरू गैह्र कानुनी र आपराधिक क्रियाकलापसँग सम्बन्धित नै थिए, त्यसैले हामी तिनीहरुलाई सामान्यतयाः जनता भन्दैनौ । ती सामान्य नागरिक होइनन्, त्यही रुपमा बुझ्न म अनुरोध गर्छु ।’

सत्तापक्षका सांसदहरुले भने गृहमन्त्रीको भनाइ र सरकारको बचाउ गरेका थिए । गृहमन्त्रीले आइतबार र सोमबार देशका विभिन्न ठाउँमा भएका घटनाको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले सरकार शान्ति सुरक्षा कायम गर्न लागिपरेको जवाफ दिनुभयो ।

विप्लव समूहसँग साँठगाँठ त छैन भन्ने विपक्षी सांसदहरुको प्रश्नलाई गृहमन्त्रीले ‘नाजायज’ प्रश्नको संज्ञा दिँदै भन्नुभयो ‘यसलाई उल्टाएर हेर्दा कतै ती प्रश्नहरुको सम्बन्ध उतै छ छैन भन्ने लाग्छ ।’

उहाँले संविधान मिच्ने र जनतालाई आतंकित पार्ने गतिविधि आपराधिक भएकाले यस्ता घटनामाथि प्रतिबन्ध लगाइएको स्पष्ट पार्नुभयो ।

गृहमन्त्री बादलले पाँचथरको मिक्लाजुङ गाउँपालिकामा जेठ ७ गते राती भएको ९ जनाको हत्यासम्बन्धी घटनाको अनुसन्धान भइरहेकाले छिट्टै सार्वजनिक हुने बताउनुभयो ।

गृहमन्त्रीको जवाफमा कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो–‘घुमाएर नबोलौं, हिजोको घटनामा कुन पार्टीको कुन माननियको संलग्नता छ ,त्यो प्रस्ट रुपमा आउनुपर्छ । हिजोको घटनामा मृत्यु हुने जनता होइनन् भन्ने अधिकार कसले दियो उहाँलाई ? के उनीहरु जनता होइनन् ?

साँसद कँडेलले थप्नुभयो–हिजो पनि द्धन्द्धकालमा जति मरे÷मारिए, के उनीहरु जनता थिएनन् ? नेपाली नागरिक थिएनन् ? यो गैह्रजिम्मेवारीपूर्वक शब्द प्रयोग गर्नुहुन्न, गर्न पाइन्न । त्यसकारण सांठगाँठ र नाजायक शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’

सभामुख कृष्णबहादुर महराले सोबारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको जानकारी गराएपछि बैठकको कारवाही अघि बढेको थियो ।