अखिल–नेविसंघ सांसदले १० करोड लिनुहुन्न भन्छन


सुरेश तामाङ, काठमाडौं ।
यसै साता आउने बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रममा १० करोड रुपियाँ बजेट थप भएर आउनुपर्ने सांसदहरुले गरेको लविङप्रति सत्तारुढ र प्रतिपक्षी दलका विद्यार्थी नेताहरुले विरोध गरेका छन् ।

मुलुकमा संघीय संरचनाअनुसार विकास निर्माण गर्न ७५३ वटा शक्तिशाली स्थानीय तह गठन भएता पनि सांसदले संघियताको मर्म विपरित अपारदर्शी ढंगले बजेट खर्च गर्ने खराब प्रवृत्ति देखाइरहेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

अखिल अध्यक्ष ऐन महरले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दुरुपयोग भएको विषयमा विरोध भएको स्वीकार्दै भन्नुभयो– ‘यो कार्यक्रम नराम्रो होइन । तर अहिले भइरहेको प्रवृत्ति गलत हो । आवश्यकताअनुसार जनतामा बजेट पुग्ने ग्यारेन्टी नहुने हो भने आचारसंहिता बनाएर रोक्नु नै पर्छ ।’

अखिलका पूर्व अध्यक्ष समेत रहनु भएका अर्का नेता माधब ढुंगेलले चुनाव लड्दादेखि नै यस्ता गलत प्रवृत्तिलाई बढावा दिएको भन्दै विरोध गर्नुभयो ।

‘चुनाव ताका फलानो ठाउँमा पुल बनाउँछु, सडक बनाउँछु भन्दै विकासका एजेन्डा अघि सार्छन्’, उहाँले भन्नुभयो–‘चुनावको त्यो एजेन्डाले गर्दा नै हो सांसदले बजेट आफ्नो पोल्टामा पार्न खोजेको । यो गलत नै हो ।’

अखिलका अर्का नेता रश्मी आचार्यले विकास खर्च गर्ने मुलुकभित्र सक्षम निकायहरु भएर पनि सांसदले आफ्नो तजविजीमा बजेट चलाउने संयन्त्र खराब भएको औल्याउँदै यसलाई रोक्नु पर्ने धारणा राख्नुभयो ।

नेवि संघका केन्द्रीय उपाध्यक्ष डिल्ली राम सुवेदीले यो कार्यक्रमको सम्पूर्ण बजेटको योजना पहाडका २० र तराईका १० प्रतिशत सम्बन्धित क्षेत्रमा मात्रै पुगेको फेहरिस्त सबैसामू छर्लङग भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–यो कार्यक्रमको केही बजेट पनि खर्च नभएको स्थिति छ । त्यो भएर पनि संवैधानिक जिम्मेवारीबेगर सांसदले आफ्नो क्षेत्रमा आफ्नै नाममा बजेट लेउ भन्नु मेल खाने विषय हैन ।’

नेवि संघकै अर्का नेता नवराज त्रिपाठीले देश संघीय संरचना अनुसार स्रोत पहिचान, परिचालन र विकास निर्माणको काम स्थानीय तहले गर्ने संबैधानिक व्यवस्था रहे पनि सांसदले तजविजीमा विकास बजेट खर्च गर्न माग भएको विषय संघीय संरचना विपरित रहेको बताउनुभयो ।