‘पुरानै बाटोमा विप्लव इतिहासको पुनरावृत्ति हुन सक्दैन’


मधुसुदन रायमाझी, काठमाडौँ ।
राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट गराएर त्रास फैलाएको नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाप्रति नागरिकस्तरबाट विरोध सुरु भएको छ ।

पूर्वघोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन सोमवार विभिन्न स्थानमा बम र शकांस्पद वस्तु राखेर त्रास फैलाउने कामको विरोध सुरु भएको हो । प्रतिबन्धित विप्लव समुहले सरकारलाई चुनौती दिन खोज्दा बम विस्फोट गर्ने क्रममा आफ्नै कार्यकर्ताले ज्यान गुमाए । सरकारले पटक–पटक वार्तामा बोलाउदा चुनौती दिदै वार्ता अस्वीकार गर्ने विप्लव समुहले हिंसाकै बाटो रोजेको देखिन्छ । सरकारले विप्लव समुहमाथि कठोर नीति लिदै नेता र कार्यकर्ता पक्राउ गर्ने कामलाई निरन्तरता दिएको छ ।

दसबर्षे शसस्त्र द्धन्द्धले थिलथिलो भएको मुलुकमा संविधान जारी भएपछि समृद्धि र शान्तिको बाटोमा अगाडि बढिरहेको बेला विप्लव समुहले एकीकृत क्रान्तिको नारा अगाडि सार्दै विध्वसात्मक गतिविधि बढाएको छ । प्रतिबन्धपछि केही सामान्य बन्दै गएको परिस्थितलाई काठमाडौंमा भएको बम विस्फोटको घटनाले पुनः तरङगित बनाइदिएको छ ।

विगतमा दस बर्षे शसस्त्र द्धन्द्धमा एकसाथ सहभागी भएका नेकपा नेताहरुले विप्लवले नयाँ बाटो नरोजी पुरानै बाटोलाई निरन्तरता दिएकाले उनको नीति सफल हुन नसक्ने बताएका छन् ।

नेकपाका नेता राम कार्कीले विप्लवले गलत बाटो लिएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘विगतकै निरन्तरतामा विप्लवले क्रान्तिको सपना देखेका छन्, अहिलेको अवस्थामा विगतको बाटोले अगाडि बढने परिस्थिति छैन् ।’

-विप्लव समुहका ४ सय २९ कार्यकर्ता पक्राउ
-विप्लवद्धारा आफ्नै कार्यकर्ता मारिएको स्वीकार

उहाँले सरकारले जनपक्षिय काम गरेर विप्लवले अगाडि सारेको एजेण्डालाई स्वतः असफल बनाउन लाग्नुपर्ने बताउदै कामको प्राथमिकता निर्धारण गर्न नसकेको बताउनभुयो ।

कार्कीले भन्नुभयो,‘सरकार अलमलमा परेजस्तै देखिएको छ, व्यवहारमा एकीकृत सोच र चिन्तन देखिएन ।’ स्वास्थ्य शिक्षा, रोजगारीको क्षेत्रमा सरकारले काम गरेर देखाउने हो भने विप्लवको एजेण्डाले काम गर्दैन, उहाँले भन्नुभयो ।

आत्मघाती बम विस्फोटको घटना घटाउने विप्लव समुह अहिलेकै बाटोबाट अगाडि बढन नसक्ने निष्कर्ष नेकपाले निकालेको छ । नेता कार्कीले विप्लवले नयाँ सोचअनुसार काम गर्न नसकेको बताउदै पारदर्शी भएर नआउदा धेरै प्रश्न गर्ने ठाउँ रहेको तर्क गर्नुभयो ।

‘केही समय क्रान्तिको नाममा हिंसाको श्रृंखला चलाउने, केही मान्छे मार्ने र वार्तामार्फत विप्लव सत्तामा जादैनन् भन्ने के ग्यारेन्टी छ ?’, कार्कीले प्रश्न गर्नुभयो ।

४ सय १४ नेता कार्यकर्ता पक्राउ
सरकारले गत फागुन २८ गते विप्लव समुहलाई प्रतिबन्ध लगाउने घोषणा गरेसँगै चार महिनामा ४ सय १८ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले पक्राउ परेका ४ सय १८ जनामध्ये हाल १ सय १४ जनामाथि अनुसन्धान भइरहेको नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँका अनुसार सोमवार मात्र विप्लव समुहका १५ जना कार्यकता पक्राउ परेका छन् । प्रवक्ता पोखरेलले विप्लवका नेता÷कार्यकर्ताहरुको खोजी जारी रहेको जानकारी दिनुभयो ।

६ स्थानमा सवारी साधनमा आगजनी
विप्लव समूहले आव्हन गरेको नेपाल बन्दअन्तर्गत सोमबार देशका विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी भएका छन् । यसमध्ये मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ मा ना.७ ख ९४९३ नम्बरको ट्रक र थाहा नगरपालिका–१ मा ना.६ ख ८००७ नम्बरको ट्रक, सुर्खेत भेरीगंगा नगरपालिका–८ मा ना.२ ख ७४४४ नम्बरको बस, नवलपरासी (पूर्व) कावासोती नगरपालिका–१६ मा बा.३ च ९३ नम्बर जिप, कालीकोट शुभकालिका गाउँपालिका–१ मा भे.७ प ४७५७ र भे.७ प ३५८ नम्बरको मोटरसाइकल र रामेछाप मन्थली नगरपालिका–६ मा ना.८ ख ३७७० नम्बरको टिपरमा आगजनी भएको प्रहरीले बताएको छ ।

मर्ने सबै आफ्नै कार्याकर्ता: विप्लव
नेकपा विप्लव समुहले काठमाडौंमा भएको श्रृङ्खलावद्ध बम विस्फोटनमा आइतबार मारिने चारै जना आफ्ना कार्यकर्ता भएको स्वीकारेको छ ।
पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा विस्फोटमा महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको स्वीकार्नु भएको छ ।

विज्ञप्तिमा विस्फोटनमा पार्टी, जनमुक्ति सेना, जवसका कमाण्डर’ भन्दै क्रमशः महान, दीपेन्द्र, प्रज्वल र निरन्तरले शहादत पाएको उल्लेख गरिएको छ ।