स्वास्थ्य चौकी व्यवस्थापन समिति सक्रिय बनाईने


धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका –१० मा रहेको तकसेरा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिलाई सक्रिय बनाइने भएको छ । नेपाल सरकारले पछिल्लो पटक जारी गरेको निर्देशिका अनुसार सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा हुने ७ सदस्यीय उक्त समितिलाई सक्रिय बनाएर सेवाको प्रभावकारिता बढाउने प्रतिवद्धता गरिएको हो ।

नेपाल जनजागरण मञ्च रुकुम र स्वच्छता परियोजनाको सहकार्यमा सञ्चालित स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरुका लागि २ दिने तालिमको अन्त्यमा स्वास्थ्य चौकीको सेवा सुधार गर्न आगामी आर्थिक वर्षका लागि कार्ययोजना समेत तयार गरिएको छ । कार्ययोजनालाई गाउँपालिकाको आगामी आर्थिक वर्षको योजना तर्जुमा प्रक्रिया मार्फत स्वीकृत गराएर कार्यान्वयन गर्ने तयारी गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहुनभएका वडाध्यक्ष ज्योतिमान बुढाले बताउनुभयो ।

कार्ययोजनामा स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको विकास, औजार उपकरणको व्यवस्थापन, सचेतना प्रवाह तथा सशक्तिकरण लगायतका क्षेत्रहरुलाई समावेश गरिएको उहाँको भनाई छ । कार्ययोजना कार्यान्वयनका लागि पुथा उत्तरगंगा गाउँपालिका र स्वच्छता परियोजनाको सहकार्य गरिने बताइएको छ ।

दुई दिनसम्म सञ्चालित उक्त तालिममा स्वास्थ्य र विकासको सम्बन्ध, मौलिक हकको रुपमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य सेवामा स्थानीय सरकारको कार्यक्षेत्र, स्रोत व्यवस्थापन, स्वास्थ्यमा बहुक्षेत्रीय समन्वय र सहकार्य लगायतका विषयमा छलफल गरिएको थियो । तालिमको सहजिकरण स्वच्छता परियोजनाका स्थानीय स्रोत व्यक्ति सुरेन्द्र खत्रीले गर्नुभएको थियो ।

कार्ययोजना अनुसार बजेट व्यवस्थापन गर्न आफूहरुले सक्दो पहल गर्ने गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो । स्वास्थ्य चौकी व्यवस्थापन समितिको सक्रियता भएमा सबै समस्याको समाधान गर्न सकिने भन्दै भवन लगाएका ठूला पूर्वाधार निर्माणको कामका लागि आफूहरुले प्रदेश सरकार र संघीय सरकारसँग पहल गर्ने उहाँको भनाई छ ।

छलफलको क्रममा स्वास्थ्य चौकीको सेवा प्रवाहको क्रममा पूरा गर्नुपर्ने मापदण्डहरु बाँकी देखिएकोले त्यसको लागि समेत कार्ययोजना बनाएर अगाडि बढ्न स्वास्थ्य चौकीलाई स्थानीय सरोकारवालाहरुले सुझाव दिएको नेपाल जनजागरण मञ्च रुकुमका फत्ते रिजालले बताउनुभयो ।