नायिका करिष्माले गरिन् पार्टी परित्यागको घोषणा


काठमाडौं ।
तत्कालीन नयाँ शक्तिकी नेत्री नायिका करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् । मानन्धरले अब आफू हाल सक्रिय रहेको पार्टीको राजनीतिमा नरहेको बताएकी हुन् ।

उनले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसके र लिखित रुपमा राजीनामा दिन बाँकी रहेको बताएकी छिन् । मानन्धरका अनुसार उनले आफ्नो व्यक्तिगत केही महत्वपूर्ण कामका लागि राजनीतिबाट टाढिन खोजेकी हुन् ।

मानन्धरले एसईई परीक्षा दिँदै गर्दा निकै चर्चामा थिईन भने उनी सदाबहार ब्युटी अभिनेत्रीको रुपमा चिनिन्छिन् । मानन्धरले करिब तीन दशक नेपाली फिल्मी क्षेत्रमा बिताईसकेकी छिन् ।

गत चैत २३ गते तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको थियो । त्यसयता निष्क्रियजस्तै रहेकी उनले एकाएक पार्टीबाट अलग हुने घोषणा गरेकी हुन् ।

करिष्मा गत २०७२ सालमा डा.बाबुराम भट्टराइ नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीति प्रवेश् गरेकी हुन् ।