सीप विकास कार्यालयका दुई कर्मचारी घूससहित पक्राउ


भद्रपुर ।
सीप विकास कार्यालय भद्रपुरबाट ३५ हजार घूस रकम सहित २ जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट लिएको ३५ हजार नगद सहित कार्यालय प्रमुख सुमेन्द्र मण्डल तथा नायब सुब्बा राजकुमार धिमाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

आयोगका प्रहरी निरीक्षक राजन कार्कीको टोलीले प्रमुख मण्डल तथा नासु धिमालले विद्युत तालिम सञ्चालन वापत सेवाग्राहीबाट कमिशन स्वरूप लिएको ३५ हजार नगद कार्यकक्षमै रहेको दराजबाट निकाल्न लगाई पक्राउ गरेका थिए । तालिम सञ्चालनका लागि स्थान निर्धारण र संस्था छनौटमा कमिशन माग्ने गरेको आरोप लागिरहेका प्रमुख मण्डल र नासु धिमाललाई विशेष सूचनाका आधारमा केही दिनयता टोलीले पछ्याइ रहेको थियो ।

यसै क्रममा सोमबार विहान ११ वजे खजुरगाछीमा सञ्चालन भइरहेको विद्युत वाइरिङ तालिम वापतको १ लाख नगद भुक्तानी लिन आएका सेवाग्राहीले रकमको चेक बुझ्नु अगाडि ३५ हजार प्रमुख मण्डल र नासु धिमाललाई बुझाएका थिए । सोही रकम बुझेको आधाघण्टा भित्र दुबैजना अख्तियारको फन्दामा परेका हुन् ।

पक्राउ परेका नासु धिमालले भने आफूलाई आफ्नै कार्यालयका कर्मचारी प्रशिक्षक दीर्घ धिमालले फसाएको आरोप लगाए । उनका अनुसार दीर्घले प्रशिक्षर्थीको खाजाभत्ता वापत बैङ्कबाट झिकेर ल्याएका एक हजार दरका ३५ हजार रकमलाई नै घूस बनाएर अख्तियार बोलाएको आरोप लागेको छ ।

पक्राउ परेका दुबैजनालाई टोलीले नियन्त्रणमा लिइ नगद सहित स्थानीय मुचुल्का बनाएर इटहरी लगेको छ ।