अमेरिकन डलर साटिदिने भन्दै लुटपाट गर्ने तीन जना पक्राउ


बुद्ध नेपाली, सिन्धुली ।
लुटपाटमा संलग्न तिन जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रक्राउ गरेको छ । अमेरीकन डलर सस्तो दरमा साट्दिने भन्दै आइतबार लुटपाट गर्ने सोलुखुम्बुको दुधकौशिका गाँउपालिकाका ३३ वर्षिया सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसेका ४० वर्षिया राम बहादुर तामाङ र सिन्धुपाल्चोककै ५४ वर्षिया जित बहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट लुटपाट गरि लगेको नगद एक लाख पचास हजार नेपाली रुपैया, छ थान मोबाईल, अमेरीकन डलर ५० को दरको १३ थान,२ को दरको १ थान,१ को दरको ४८५ थान बरामद गरेको छ ।

त्यस्तै बा.८३ प.८८८४ र बा.९१ प.४२८५ नम्बरको मोटरसाईकल पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुले आँफुहरुसँग २५ हजार अमेरिकन डलर रहेको र सस्तो मुल्यमा नेपाली रुपैँयासँग साट्दिने भन्दै सल्यान बागचौर नगरपालिका –९ घर भई हाल दाङ तुल्सिपुर उप महानगरपालीका –९ बेलुवा बस्ने सन्तोष डाँगी र डाँगिका साथी नबिन के.सि.को साथमा रहेको १३ हजार मुल्यको जे २ मोबाइल लुटपाट गरेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जानकारी दिनुभयो ।

उनीहरुले सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ६ बरबोटेमा बोलाएर लुटपाट गरेको प्रहरी उपरिक्षक सिँहले बताउनुभयो । उपरिक्षक सिँहका अनुसार उनीहरुले ज्यान मार्ने धम्की देखाएर डाँगिसँग रहेको १ लाख पचास हजार र डाँगिका साथी नबिन के.सि.को साथमा रहेको १३ हजार मुल्यको जे २ मोबाइल लुटपाट गरेका हुन् ।

उक्त घट्ना भएपछि पिडितले तत्काल प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले दुई घण्टामै लुटेरालाई पक्राउ गरेको प्रहरी उपरिक्षक सिँहको दावी छ ।

प्रहरी चौकि खनियाखर्क सिन्धुलीबाट खटिएको प्रहरी टोलिले कमलामाई नगरपालिका ३ कमेरे डांडाबाट २ वटा मोटरसाईकलमा आएका तिन जनालाई पक्राउ गरेको हो । उक्त घट्नाको आवश्यक कारवाही तथा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।