नगरप्रमुख मदनसुन्दरले तिरे १ लाख जरिवाना


उपप्रमुखसहित वडा अध्यक्षहरुले गरे पत्रकार सम्मेलन बहिष्कार

भक्तपुर ।
मापदण्ड विपरित बनेको आफ्नो घर जोगाउन मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सुटुक्क १ लाख जरिवाना तिरेका छन् । नगर क्षेत्रभित्र बनेका मापदण्ड विपरित घर टहरा हटाउने, बाटोको मापदण्डमा कडाई गर्ने अभियान नै चलाएका मेयर श्रेष्ठले मापदण्ड मिचेर मध्यपुर थिमि नपा–३, गठ्ठाघरमा बनेको आफ्नो घरको भने न्युनतम एक लाख जरिवाना तिरेर ‘क्लिन चिट’ लिएका छन् ।

उनको यो कार्यले नगरबासीलाई ‘मापदण्ड मिच र न्युनतम जरिवाना तिरेर उन्मुक्ति पाउँ’ भन्ने सन्देश प्रवाह गरेको छ । नगर प्रमुख जस्तो व्यक्तिले आफ्नो सिमित स्वार्थका लागि नियम विपरित कार्य गरेको भन्दै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु असन्तुष्ट बनेका छन् ।

मनोमानी गर्दै योजना सञ्चालन गरेका कारण नगर कार्यपालिकाबाट योजना तथा बजेट स्विकृत गराउन नसकेका मेयर श्रेष्ठले सहकारीहरुबाट चर्को व्याज तिरेर नगरपालिकाको नाममा ऋण लिएरै योजनाहरु सञ्चालन गरेको नगरपालिका कार्यपालिका सदस्यले जानकारी दिएका छन् । सहकारीसँग ऋण लिएर नियम विपरित कार्य गर्ने नगर प्रमुखले कार्यपालिकाबाट योजनाहरु स्विकृत गराउने वातावरण बनाउन नसक्दा समस्या उत्पन्न भएको उनीहरुको भनाई छ ।

कार्यपालिकाका एक सदस्यले भने, ‘मेयरले नियम विपरित कार्य गर्दै हिड्ने त्यसको जस कार्यपालिकाले लिनुपर्ने नियम कहिँ नभएकाले नगरपालिकाको नाममा लिएको ऋण कसरी चुक्ता हुँदो रहेछ हामी पनि हेरौला ।’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बरालले ऋण लिएर सम्पन्न गरेका योजनाहरुको भुक्तानीका लागि आर्थिक शाखामा पठाएपनि रित नपुगेको र नियम विपरित भन्दै आर्थिक शाखाले अहिलेसम्म भुक्तानी रोकेर राखेको छ ।

नगर प्रमुख श्रेष्ठले १६ वटा योजना र बजेट कार्यपालिकाबाट स्विकृत नै नगरी मनोमानी सञ्चालन गरेका छन् । शंखधर चोक गुरुयोजनाका लागि बिनियोजन भएको ५० लाख बजेटले नपुगेपछि बाँकी ५५ लाख ४५ हजार रुपैयाँ मनोमानी खर्च गरेका छन् । आदर्श माबि लायकुको मल्लकालिन शैलीमा बिद्यालय निर्माणका लागि ९७ लाख ८४ हजार बजेट विनियोजन नै नगरी योजना सञ्चालन भइरहेको छ । बिष्णुबीर बिस्केट जात्रा मार्गमा पनि ३६ लाख ३५ हजारको योजना पनि बिनियोजन नै नगरी काम सम्पन्न भएको छ । मेयर श्रेष्ठले बजेट बिनियोजन नै नगरी बिष्णुकुण्डल बाटो कालोपत्रे गर्ने काम सम्पन्न गरेका छन् ।

मेयरले आफैं गल्ती गर्दै आफैं सञ्चाउने कार्य समेत गर्दै आएका छन् । नगरपालिकाको बजेट लगानी भएको छ । त्यो बजेट कसरी स्विकृत गर्न सकिन्छ र ? वडा नं. २ का अध्यक्ष तथा प्रवक्ता राम थापामगरले भने, ‘मध्यपुर थिमि र सुर्यविनायक नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण सम्पन्न हुनै लागेको नयाँ पुलमाथि मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुखले डोजर चलाएर भत्काईदिनुभयो ।

पछि गल्ती गरेको महशुस भएछ क्यार फेरी गएर आफै बनाइदिनुभयो । यस्मा खर्च भएको बजेट नगरपालिकाले कसरी व्यहोर्न सक्छ ?’
निर्माण व्यवसायीलाई कुनै पत्तो नदिई एकाएक निर्माण कार्य भइरहेको स्थानमा पुगेर गुण्डागर्दी शैलीमा पुलको बन्दै गरेको संरचना भत्काइदिएको भन्दै नगर प्रमुख श्रेष्ठको चर्को आलोचना भएपछि उनले पुनः मध्यपुर थिमीतर्फको पुलको भत्काएको संरचना बनाइदिएका थिए ।

नगर प्रमुखको मनोमानीका कारण असन्तुष्ट बनेका नगर उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्यलगायत ३५ जनाले नगरपालिकाको दुई बर्षे कार्यकालको समिक्षा कार्यक्रमको पत्रकार सम्मेलन समेत बहिष्कार गरेका छन् । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुखले एकलौटी निर्णय गरेर मनोमानी गरेका कार्यक्रमको साक्षी बन्न नसकिने भन्दै उपप्रमुख, ७ जना वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले समिक्षा कार्यक्रमको पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् ।

नगर प्रमुख श्रेष्ठले बहुमत पक्षलाई बेवास्ता गर्दै योजना, कार्यक्रम र बजेटहरु कार्यपालिकामा छलफल नै नगरी सञ्चालन गर्ने गरेको उनीहरुको आरोप छ । नेपाली काँग्रेस मध्यपुर नगर समितिले समेत नगर प्रमुखको एकाधिकारवादी सोंच, एकलौटीपना, नियम विपरितका गतिविधी र मनोमानी बिरुद्ध शसक्त रुपमा प्रतिवाद गर्न आफ्ना जनप्रतिनिधीहरुलाई निर्देशन दिएपछि उपप्रमुख सहित वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु मेयरको गलत गतिविधी बिरुद्ध आन्दोलित बनेका छन् । पत्रकार सम्मेलनमा वडा नं. ७ का वडाअध्यक्ष कृष्णकुमार प्रजापतिको मात्रै उपस्थिति रहेको थियो ।

आब ०७५÷०७६ को १० महिनामा नगरपालिकाले कूल स्वीकृत बजेटको ३४.४८ प्रतिशत मात्र प्रगती हासिल गर्न सकेको छ । चालु खर्चतर्फ २३ करोड ८१ लाख ३४ हजार र पूँजीगत खर्चतर्फ १८ करोड २२ लाख २५ हजार मात्रै खर्च गरेको छ । नगर प्रमुख श्रेष्ठले करिब ५२ करोड पूँजीगत खर्च भईसकेपनि फस्र्यौट हुृन बाँकी रहेकाले कम देखिएको उल्लेख गर्दै असार मसान्तसम्म ६० देखि ७० प्रतिशतसम्म खर्च हुने दावी गरेका छन् ।

पत्रकार सममेलन बहिष्कार गरेका वडा नं. १ का वडाअध्यक्ष सुरज खड्काले पत्रकार सम्मेलनमा अघिल्लै बर्षका कामको प्रचार गरेको भन्दै प्रशंसायोग्य कुनै काम हुन नसकेको भन्दै स्ट्याटस लेखेका छन् । वडाअध्यक्ष खड्काले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन, ‘मेयरको २७ वुँदे अदस्तावेज हेर्दा लाग्यो वडाले त २ वर्ष शुन्य काम गरेछ की क्या हो ? कि मेयरले ९ वटै वडाको काम पनि १० नं. वडा खडा गरी आफै १० नं. को वडा अध्यक्ष भएर गरेछन्, अचम्मै छ हौं मध्यपुरमा !’