सडक जाम हटाउन सडक विस्तार


पाल्पा ।
तानसेन–तम्घास सडकखण्ड साँघुरो हुँदा दिनहुँ हुने सडक जाम, दुर्घटना जस्ता समस्या समाधान गर्नै उद्देश्यका साथ तानसेन नगरपालिकाले सडक फराकिलो वनाउन सुरु गरेको छ । तानसेन नगरपालिकाले तानसेनकै होलाङ्दीदेखि तानसेनकै ढुङ्गाखानीसम्म सडक बिस्तार गर्ने निर्णयअनुसार सडक फराकिलो बनाउने काम सुरु गरेको हो ।

यसै अनुसार नगरपालिकाले प्रारम्भिक चरणमा तानसेनको वनदेविबाट सडक फराकिलो पार्ने काम सुरु गरेको जनाएको छ । सडक बिस्तार तथा फराकिलो पार्नका लागि ४० लाख बजेट विनियोजन गरेर नगरपालिकाले समय सापेक्ष सडक फराकिलो बनाइने नगरपालिकाले जनाएको छ ।

तानसेन नगरपालिकाका प्रमूख अशोककुमार शाहीले यो वर्षदेखि सडक फराकिलो पार्ने काम सुरु भएको र अर्को वर्ष पनि नगरपालिकाले निर्णय गरेका क्षेत्रहरुमा सडक फराकिलो पार्दै जाने बताउनुभयो । सडक बिस्तार गरेका स्थानीय बासिन्दासँग सहकार्य र छलफल गरेर तानसेन नगर कार्यपालिकाको बैठकले निर्णय गरे अनुसार सडक फराकिलो हुने उहाँको भनाई छ ।

तानसेन नगर कार्यपालिकाको गत २०७५ फागुनमा बसेको बैठकले सडक केन्द्र भागदेखि दायाँबायाँ १०/१० मीटर सडक फराकिलो पार्ने निर्णय गरेको थियो । तानसेनको होलाङ्दीदेखि ढुङ्गाखानीको सडक बिस्तार गरेको खण्डमा दुई सय जति घरहरूमा क्षति पुग्ने बताइएको छ । केही घरहरू सडक विस्तार हुनुभन्दा अघि बनेका र केही घरहरू विगतमा तानसेन नगरपालिकासँग सडक बिस्तार गर्ने क्रममा घर भत्काउने कागजपत्र बनाएर घरधनीले घर बनाएका थिए ।

तानसेन नगरपालिकाले आगामी वर्ष पनि सडक फराकिलो पार्ने उद्देश्यका साथ अहिले सडक विस्तारको काम गरिरहेको जनाएको छ । नगरपालिकाका अनुसार पहिले छ मीटर मात्र फराकिलो रहेको सडक १२ मीटर फराकिलो बनाइएको छ । १२ मीटर सडक बनेको खण्डमा तीन लेनको सडक बिस्तार हुने र आगामी दिनमा ट्राफिक समस्या समाधान हुने नगरपालिकाले जनाएको छ ।