रानीमहल जगबारे चिन्ता बढेपछि वास्तविक अवस्थाको परीक्षण


पाल्पा ।
कालीगण्डकी नदीको किनारामा अवस्थित नेपालको ताजमहल भनेर चिनिने र प्रेमको प्रतिक रानीमहलको जगलाई पानीको बहावले कटान गरेको र यसको अस्तित्व संकटमा परेको भनेर चिन्ता वढेपछि यसको वास्तविक अवस्था बारे परीक्षण भएको छ । कालीगण्डकी नदी माथि निर्माण भएको महल भत्किने अवस्थामा पुगेको भन्दै विभिन्न पक्षबाट चिन्ता भईरहेको अवस्थामा गोताखोर प्रयोग गरी जग कटानको परीक्षण गरिएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अगुवाइमा तानसेन नगरपालिका, सशस्त्र प्रहरी बल नम्बर ३५ गुल्मको सहयोगमा रानीमहलको जगमा गोताखोर परिचालन गरी जग कटानबारे जानकारी लिइएको हो । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको रानीमहलको कुनै पनि तरिकाबाट खतरा नहोस, भएको खण्डमा समयमै रानीमहललाई जोखिममुक्त गराउन सकियोस् भनेर अध्ययन् अनुसन्धान गरिएको प्रजिअ यादवले बताउनुभयो ।

शसस्त्र प्रहरी बल केन्द्रीय कार्यालय काठमाडौंबाट आएका गोताखोर,प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, वरिष्ठ हवलदार बलराम अधिकारी र सहायक हवलदार पारस खाम्चाले रानीमहल जग कटानको परीक्षण गरेका हुन् ।

रानीमहलको जगमा भएको कटान जोखिम हटाउन प्राविधिकहरुसँग सरसल्लाह गरी उपयुक्त कदम चालिने प्रजिअ यादवले बताउनु भयो ।

अहिलेसम्म कालीगण्डकीको चट्टान माथि रहेको जगको वास्तविक अवस्था पत्ता लागेको थिएन, नत कुनै पक्षबाट यसरी जगको अवस्थाबारे परीक्षण नै गरिएको थियो । कालीगण्डकी नदीको धार रानीमहलको जगतर्फ बगिरहेको र निरन्तर कटान भईरहेकाले दरबार भत्किने होकी भन्ने चिन्ता बढेको थियो । रानीमहलको जग क्षेत्रतर्फ रहेको नदीको धार अर्काे तर्फ पठाउने वा प्राकृतिक रुपममै रानीमहल तर्फ बगिरहेको धारलाई निरन्तरता दिने भन्ने विषयमा अन्योलता रहँदै आएको छ । रानीमहलको जगको चट्टानको परीक्षण गरेका शसस्त्र प्रहरी बल केन्द्रिय कार्यालयका गोताखोर प्रहरी निरीक्षक भण्डारीले रानीमहलको जग यही अवस्थामा दुई तीन सय वर्ष खतरामा नरहेको बताउनु भयो ।

तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले रानीमहल संरक्षणका लागि नगरपालिकाले आवश्यक बजेटदेखि विभिन्न संरचना निर्माण गर्ने बताइन् ।

तत्कालिन पाल्पा तैनाथ खड्ग शमशेरले वि.स. १९५४ मा आफ्नी रानी तेजकुमारीको सम्झनामा रानीमहल दरबार कालीगण्डकीको तिरमा निर्माण भएको थियो । जसलाई अहिले प्रेमको प्रतिकको रुपमा समेत लिने गरिन्छ ।

रानीमहलको संरक्षण गर्ने कार्य अन्तर्गत जगका बारेमा अध्ययन् पहिलो पटक भएको तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले बताउनुभयो । गत वर्ष सङ्घीय सरकारले रानीमहलको संरक्षण र रेखदेखको जिम्मा समेत तानसेन नगरपालिकालाई दिएको छ ।

रानीमहलको संरक्षण गर्ने कार्य अन्तर्गत जगका बारेमा अध्ययन् पहिलो पटक भएको तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले बताउनुभयो । गत वर्ष सरकारले रानीमहलको संरक्षण र रेखदेखको जिम्मा तानसेन नगरपालिकालाई दिएको छ । यसै अनुसार यस महलमा सरसफाइ इको पार्क निर्माण संंरक्षण लगायतका कार्यहरु भैरहेका छन ।