उपभोक्तालाई ठगी गर्ने दुई पसल दण्डित


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सामा राज्यको नीतिलाई वेवास्ता गरी उपभोक्तालाई ठगी गर्ने वीरगन्ज महानगरपालिकाका २ वटा किराना पसल संचालकलाई दण्डित गरिएको छ।

उपभोक्ता संरक्षण ऐन २०७५ विपरित उपभोक्तालाई ठगी गरेको पाइएपछि वीरगन्जका दुई किराना पसलेलाई दण्डित गरिएको हो। दण्डित हुने किराना पसल वीरगन्जको माइस्थान मन्दिर अगाडिका गणेश किराना स्टोर र माँ अम्बे इन्टरप्राइजेज रहेको बाणिज्य कार्यालय वीरगन्जले जनाएको छ। ती पसलेले बाणिज्य कार्यालयको अगुवाईमा गएको अनुगमन टोलीले ऐनको बर्खिलाप गरेको पाइएपछि दण्डित गरिएको बाणिज्य कार्यालय वीरगन्जका दिलिप खँगले जानकारी दिनुभयो ।

दुवै किराना पसलले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १५ को १ र २ बमोजिम बिल विजक देखिने प्रमाण नराखी समान वितरण गरिरहेको खँगले बताउनुभयो । पसलमा उपभोक्ता संरक्षण ऐन अनुसार काम नगरेकाले गणेश किरानालाई १० र माँ अम्बे इन्टरप्राइजेजलाई २० हजार जरिवाना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

उनीहरूले बाणिज्य कार्यालय वीरगन्जको कोर्ड नम्बर ३०७०५२२०१ भएको वाणिज्य बैंक शाखा कार्यालय वीरगन्जको राजश्व शीर्षक नं.१४३१२ को खाता नम्बर १०००२००१०००० मा ७ दिन भित्र जरिवाना गरिएको रकम जम्मा गरिसक्नुपर्नेछ। त्यो रकम जम्मा गरेको सक्कल भौचरको दोस्रो प्रति निर्धारित मितिमा बाणिज्य कार्यालय वीरगन्जमा पेश नगरे ती फर्मलाई थप दण्डित गरिने बाणिज्य कार्यालय वीरगन्जले जनाएको छ।