जनता कम्युनिष्ट सत्ताको विकल्प खोज्दै छन्ः नेता पौडेल


किरन धामी, दार्चुला ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता कम्युनिष्ट सत्ताको विकल्प खोजी रहेको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुला द्धारा आयोजित तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले यस्तो बताउनु भएको हो । साथै उहाले वर्तमान सरकारले दुई तिहाई मतको दुरुपयोग गर्दै संवैधानिक निकाय माथी हमला गरिरहेको समेत आरोप लगाउनु भएको छ ।

‘पञ्चायतकालमा अदालतले स्वतन्त्र भएर न्याया दिन्छ भन्ने भरोसा हुन्थ्यो वर्तमान सरकारले अदालतलाई समेत भरोसाको अनुभुती गर्न नपाइने थलो बनाएको छ उहाले भन्नुभयो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायका रुपमा रहेका अदालत र अख्तियारलाई आफ्नो इशाराबाट चल्ने बनाएको समेत नेता पौडेलले आरोप लगाउनु भएको छ ।

वर्तमान सरकारलाई सहि बाटोमा हिडाउनका लागी कांग्रेस पार्टी र आम नेपाली जनता ओरल्ली, मोरल्ली र पोलीटीकल्ली रुपमा अगाडी बढ्न जरुरी रहेको उहाले सम्बोधनका क्रममा बताउनु भएको छ । अर्को प्रसंगमा बोल्ने क्रममा बरिष्ठ नेता पौडेलले दुई तिहाईको सरकारलाई संविधान बादरको हातमा नरिवल जस्तै भएको बताउनु भएको छ ।

‘संविधानको मर्म र भावना विपरित वर्तमान सरकारले काम गरिरहेको छ, संविधान बादरको हातमा नरिवल जस्तै भएको छ उहाले भन्नुभयो ।’ सबै संवैधानिक निकायहरु वर्तमान सरकारले आफ्नो भर्ती केन्द्र बनाएको बरिष्ठ नेता पौडेलले बताउनु भएको छ । साथै उहाले वर्तमान सरकारलाई खबरदारी गर्नका लागी आफ््नो पार्टीले राष्ट्रिय रुपमा जागरण अभियान संचालन गरेको बताउनु भएको छ ।

कांग्रेस पार्टी र आम जनतामा जागरणको खाचो भएका बेला राष्ट्रिय जागरण अभियानको थालनी गरिएको उहाको भनाई छ । आम जनतालाई जागरित गराउन राष्ट्रिय जागरण अभियान सफल हुने उहाको विस्वास छ ।