नेपाल प्रहरीद्वारा भारतीय प्रहरी फिर्ता


हेटौंडा ।
नेपाल–भारतको सीमाबाट करिब ५८ किलोमिटर पर हेटौंडा आएका भारतीय ४ प्रहरीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर भारतको रक्सौल फिर्ता पठाएको छ ।

वीरगञ्ज नाकादेखि करिब एक दर्जन प्रहरी चौकी पार गरेर उनीहरु हेटौंडा आएका हुन् । हेटौंडा–४ मा रहेको भुवनेश्वर (पशुपति) मन्दिर दर्शन गर्न आएका दुई असई र दुई प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि भारत फिर्ता गरेको हो ।

शनिबार सवेरै हेटौंडा आइपुगेका भारतीय प्रहरी आफ्नो पोशाकमै देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि मकवानपुर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

हेटौंडा–४ मा रहेको पशुपति मन्दिरमा दर्शन गर्ने क्रममा मकवानपुर प्रहरीले भारतीय प्रहरीलाई विहान करिब ७ बजे नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै प्रहरी भ्यानमा राखेर पर्सा नाकाको नेपाल प्रहरीलाई जिम्मा लगाएर भारत फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।

प्रनाउ भट्टराईले पशुपति दर्शन गर्ने उद्धेश्यले आएका उनीहरुलाई फिर्ता गरिएको बताउनुभयो । उहाँका अनुसार भारतीय प्रहरीसँग हतियार भने थिएन । भारत बनारसका ती प्रहरी अभियुक्त पक्राउ गर्ने क्रममा रक्सौल आएका थिए । र, ती अभियुक्त पक्राउपछि रक्सौल प्रहरीलाई उनीहरुले जिम्मा लगाएका थिए ।

गुगल म्यापबाट पशुपति मन्दिर सर्च गर्दा रक्सौलबाट ५८ किलोमिटरमात्र दुरी देखिएपछि उनीहरु हेटौंडा आएको र दर्शनपछि सामान्य सोधपुछ गरी फिर्ता पठाइएको उहाँले बताउनुभयो । प्रनाउ भट्टराईका अनुसार उनीहरुले युनिफर्म लगाएका थिए । उनीहरुले मन्दिर दर्शनपश्चात् खाजाखाने योजना बनाएका थिए । उनीहरुले गेष्टहाउसमा कोठा खोजेको बताइएको छ ।