आठ करोड नक्कली भारुसहित ६ पक्राउ


समातिए पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा युनिस 
दीपक रिजाल, काठमाडौं
लामो समयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो मात्रामा भारतीय नक्कली नोटसहित पाकिस्तानी भरिया र नेपालमा लामो समयदेखि नक्कली नोटको कारोबारमा संलग्न रहेका ३ नेपाली पक्राउ परेका छन्।

केही समय अघिदेखि नेपालमा ठूलो मात्रामा नक्कली भारतीय नोट भित्रिने तयारीमा रहेको सुराकी पाएको नेपाल प्रहरीले नक्कली नोटका बारेमा चासो राख्दै आएको थियो। कहिले दुबई, कहिले कतार त कहिले यूएईबाट उक्त नक्कली भारतीय रुपियाँ नेपाल आउने सुराकी पाएपछि ती मुलुकबाट नेपाल भित्रिने विमानहरूका बारेमा समेत नेपाल प्रहरीले सावधानीपूर्वक चेकजाँच गर्दै आएको थियो।
शुक्रबार बिहान नेपाल प्रहरीको विशेष ब्युरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र अपराध महाशाखाको टोली कतार एयर लायन्सको उडान नम्बर क्यूआर ६४४ को काठमाडौं अवतरणको पर्खाइमा रहेको थियो। विमानको उडानमा रहेका ३ पाकिस्तानी यात्रुले ठूलो मात्रामा भारतीय नक्कली नोट ल्याएको सुराकी पाएको नेपाल प्रहरीले ती यात्रुलाई लगेज समातेर अगाडि बढ्नासाथ नियन्त्रणमा लिएको थियो।

कतारबाट उक्त नक्कली भारतीय नोट नेपालका लागि हिँडेपछि नेपालमा बसेर लामो समयदेखि भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेका युनिस अन्सारी निजका सालोसहित गाडी लिएर विमानस्थलमा पुगेको पत्ता लगाएको प्रहरीले उनीहरूलाई पनि नियन्त्रणमा लिन सफल भयो। प्रहरीले पाकिस्तानी नागरिक ४९ वर्षका मुहम्मद अख्तर, ६७ वर्षका नासिर उद्धिन र ३९ वर्षीया नादिया अनवरलाई पक्राउ गरेको छ।

उनीहरू भरियाका रूपमा नेपाल आएका, उक्त रकम युनिस अन्सारीले बुझ्ने र उनीहरू केही दिन नेपाल बसेर कतार हँुदै पाकिस्तान फर्कने कार्यतालिकासमेत प्रहरीले फेला पारेको थियो। कालो र निलो सुटकेसमा मिलाएर ल्याइएको ७ करोड ६७ लाख ९४ हजारको २ हजार, १ हजार र ५ सय दरका नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सो रकम युनिस अन्सारीले काठमाडौंबाट वीरगन्ज, रौतहटको गौर, विराटनगर लगायत विभिन्न नाकाबाट भारत पठाउने योजनामा रहेका थिए। उक्त रकम बुझ्न केही भारतीय नागरिक नेपाल भारत सीमाक्षेत्रमा आएर बसेको सुराक पनि नेपाल प्रहरीले पाएको थियो। उनीहरूको खोजीमा समेत नेपाल प्रहरीको एउटा टोली परिचालित थियो।

उक्त नक्कली भारतीय रुपियाँ लिन विमानस्थल पुगेका अन्सारी र उनका  साला सोहेल खान र गाडीका चालक सुमन रानाभाटलाई समेत प्रहरीले पक्राउ गरेको छ।

भारतले पुराना नोटलाई विस्थापित गरेर नयाँ नोट चलनचल्तीमा ल्याएपछि नेपालमा यति ठुलो भारतीय नक्कली नोट पहिलोपटक पक्राउ परेको हो।

पक्राउ परेको उक्त रकम महानगरीय प्रहरी कार्यालयले शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। आयुक्त कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापाले रकमको बारेमा जानकारी गराउनुभएको थियो।

विमानस्थलमा बरामद भएको उक्त रकम गन्न प्रहरीलाई २ घन्टाभन्दा बढी समय लागेको थियो। प्रहरीले उक्त रकम राजस्व अनुसन्धान विभागमा पठाउने भएको छ।

भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहँदै आएका पूर्वमन्त्री सलिम मिया अन्सारीका छोरा हुन् युनिस अन्सारी। भारतीय सुरक्षा निकायको उच्च निगरानीमा पहिलेदेखि नै रहेका अन्सारी पहिलोपटक नक्कली नोटसहित २०६५ पुस १८ गते ललितपुरको नख्खुस्थित घरबाट पक्राउ परेका थिए। उनी केन्द्रीय कारागार सुन्धारामा रहेको बेला भारतीय नागरिक मनमित सिंहले २०६७ फागुन २६ मा गोली प्रहार गरी हत्याको प्रयास गरेका थिए। तर उनी त्यसबेला बच्न सफल भएका थिए।

पटक–पटक पक्राउ पर्दै छुट्दै आएका अन्सारी दोस्रोपटक २०६६  पुस ७ गते थापाथलीस्थित ब्लुस्टार कम्प्लेक्सबाट २५ लाखभन्दा बढी नक्कली भारतीय नोटसंगै पक्राउ परेका थिए।

अन्डरवल्र्ड दाउद इब्राहिमका नेपालका एजेन्टका रूपमा रहेका भनिएका अन्सारी तेस्रो पटक २०७० माघ १२ मा पक्राउ परेका थिए। प्रहरीले उनलाई ३५ लाख भारतीय रुपियाँसहित पक्राउ गरेको थियो। अन्सारी २०७४ चैत २ गते छुटेका थिए। जेलबाट छुटेपछि पुन नक्कली नोटको बारोबारमा संलग्न हुदै आएका अन्सारीलाई चौथोपटक शुक्रबार पुनः पक्राउ गरेको छ।

पाकिस्तानी एजेन्टको उपमा पाउँदै आएका अन्सारीलाई भारत सरकारले  आतंककारीको संज्ञा दिँदै हिटलिस्टमा राखेको छ। नेपालमा दाउदको लगानी भएको र उक्त लगानी अन्सारीले नै सम्हाल्ने गरेको आरोप भारतीयहरूले लगाउने गरेका छन्। सञ्चार उद्यमीसमेत रहेका अन्सारीको बिगत पनि अपराध कर्ममा नै संलग्न रहेको पाइन्छ।
पटक पटक पक्राउ पर्दै छुट्दै आएका अन्सारी दोस्रो पटक २०६६  पुस ७ गते थापाथलीस्थित ब्लुस्टार कम्प्लेक्सबाट २५ लाखभन्दा बढी नक्कली भारतीय नोटसँगै पक्राउ परेका थिए।