विराटनगरमा तेक्वान्दो पदाधिकारीबीच कुटाकुट


सरोज यादव, विराटनगर ।

विराटनगरमा आयोजित प्रदेशस्तरीय उपराष्ट्रपति कप तेक्वान्दो प्रतियोगितामा विवाद भएको छ । प्रदेश एक खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा आफूहरुलाई निर्णायकका रुपमा सहभागि नगराई बाइपास गरेको भन्दै राष्ट्रिय तेक्वान्दो संघ आबद्ध निर्णायकहरुले विरोध जनाएपछि विवाद भएको हो ।

उनीहरुले प्रतियोगितामा नेपाल तेक्वान्दो संघलाई मात्र सहभागी गराई आफूहरुलाई बाइपास गरेको आरोप लगाएका छन् । प्रतियोगिता आयोजनास्थल सहिद रंगशालास्थित नेपाल कर्मचारी मिलन केन्द्रको सभाहलमा पुगेका राष्ट्रिय तेक्वान्दो संघका प्रशिक्षकहरुले प्रतियोगिता भइरहेको स्थानमा कालोझण्डा प्रर्दशन गरेका थिए ।

कालोझण्डा प्रदर्शन गरेलगत्तै नेपाल तेक्वान्दो संघले हस्तक्षेप गरेपछि विवाद हात हालाहालसम्म पुगेको थियो । नेपाल तेक्वान्दो संघका पदाधिकारीले बिरोध गर्ने भए खेलकुद विकास समितिको कार्यालयमा गर्नुपर्ने तर खेल बिथोल्न नहुने भन्दै प्रतिवाद गरेका थिए ।

विवादमा परेका राष्ट्रिय तेक्वान्दो संघ र नेपाल तेक्वान्दो संघ दुवै राष्ट्रिय खेलकुद परिषदबाट मान्यताप्राप्त संस्था हुन । क्षेत्रीय खेलकुद विकास समितिका प्रदेश अध्यक्ष रविन नगरकोटीले भने निर्णायकको बिषयमा दुवै संघबीच सामान्य विवाद भएको तर पछि दुवै पक्षबीच सहमति भएको बताउका छन ।