आईजीपी खनालको अतिथ्यमा वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन-२०७६ सुरु


धनुषा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन-२०७६ धनुषाको जनकपुरधाममा शुक्रबार शुरु भएको छ ।

‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मुल नाराका साथ शुरु भएको सम्मेलनको उद्‍घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले सरकारी वकिलहरुको कानुनी विज्ञता र मेडिको लिगल अफिसर (चिकित्सक) हरुको विषयगत दक्षता सफल अनुसन्धानको महत्वपुर्ण पक्ष भएकोले अनुसन्धानकर्ता प्रहरीहरुले सोको उचित प्रयोग गर्नुपर्नेमा जोडदिनु भयो । साथै लामो समयदेखि पेण्डिङ्ग रहेको मुद्दाहरुको अनुसन्धानलाई तिव्रता दिनुपर्ने समेत उहाँले बताउनुभयो ।

नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी मार्फत समाजमा शान्ति स्थापना तथा अपराध नियन्त्रण गर्न समुदायसँग सहकार्यमा विभिन्न सामाजिक कार्यक्रम गरिरहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसमा अभियोजनकर्ता सरकारी वकिलहरु तथा संचारकर्मीको पनि साथ भएमा अपेक्षित उपलब्धी हासिल गर्न सकिने बताउनुभयो ।

निष्पक्ष, बैज्ञानिक, तथ्यपरक एवं प्रमाणमुखी अनुसन्धानका माध्यमबाट आम नागरिकहरुलाई कानुनी शासनको प्रत्याभूति दिलाउनु पर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले सबै खाले अपराध र भ्रष्टाचार विरुद्ध शुन्य सहनशिल नीतिलाई अख्तियार गर्दै उच्च मनोवलका साथ कार्य गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिनुभयो ।

अपराध नियन्त्रण तथा अभियोजमा कानुनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाउनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, “अपराध अनुसन्धान तथा अभियोजनमा नियत सफा राखेर कुनै सहुलियत नलिई काम गर्नुस् । ”
अपराध नियन्त्रण तथा अनुसन्धानको लागि नेपाल प्रहरीले टोल फ्रि नम्बर ११७७ प्रयोगमा ल्याएको बताउँदै धेरै वर्षको प्रयासपछि नेपाल प्रहरीले साइबर ब्यूरो तथा मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना गर्न सफल भएको समेत उहाँले जानकारी गराउनुभयो ।

उद्‍घाटन समारोहमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल र २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव, अरुण कुमार झाले समेत आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंका सह-न्यायधिवक्ता संजिव राज रेग्मीले अध्यक्षता गर्नुभएको उदघाटन समारोहमा २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षकले हरि बहादुर पालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक सुर्य प्रसाद उपाध्यायले स्वागत मन्तब्य राख्दै सम्मेलनको उद्धेश्यबारे प्रकाश पार्नुभएको थियो ।

प्रहरी प्रधान कार्यालयको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौंको सहकार्यमा प्रदेश नम्बर १ र प्रदेश २ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको सहभागितामा उक्त दोस्रो प्रादेशिक सम्मेलन शुरु भएको हो ।

शनिबार सम्पन्न हुने सम्मेलनमा उच्च सरकारी वकिल कार्यालय विराटनगर, वीरगंजका सह-न्यायाधिवक्ताहरु, बिज्ञ, चिकित्सक, संचारकर्मी लगायतको उपस्थिति रहेको छ ।