विमानस्थलबाट बरामद नक्कली भारु ७ करोड ६७ लाख !


दिपक रिजाल, काठमाडौं । त्रिभुवन अन्र्ताष्ट्रिय विमानस्थलबाट बरामद गरेको नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो ठूलो परिणाममा नक्कली भारतीय रुपैयाँसहित ६ जना पक्राउ परेको प्रहरीले सार्वजनिक गरेको थियो । दुई बाकस बरामद नोट गणना गरेपछि प्रहरीले परिणाम सार्वजनिक गरेको हो ।

विमानस्थलमा खटिएका प्रहरी टोलीका अनुसार ती नोटसहित पक्राउ पर्नेमा पाकिस्तानी नागरिकमा नासिर उद्दिन, मोहमत अतर र नादिया अम्बर छन् । उनीहरुलाई लिन युनुस अन्सारीसहित ३ जना विमानस्थल पुगेका थिए ।

उनीहरु कतार एयरवेजबाट पाकिस्तानबाट नेपाल आएको प्रहरीले जनाएको छ ।

अन्सारीलाई पाँच वर्षअघि विशेष व्यूरोको टोलीले ३५ लाख नक्कली भारतीय रुपैयाँ सहित पक्राउ गरेको थियो। त्यस्तै २०६५ पुसमा जाली नोट सहित पक्राउ परेका उनी जेल सजाय भुक्तान गरी निस्किएका थिए।

नक्कली नोटको कारोबारमा जेलभित्र नै रहेको बेला उनलाई २०६७ साल फागुनमा सुन्धारास्थित केन्द्रीय कारागार भित्रै गोली प्रहार भएको थियो।