बनायो कांग्रेसले छाया सरकार, प्रधानमन्त्री खै ?

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं
सरकारको काम कारबाहीलाई निगरानी गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार छाया सरकारका रुपमा क्रियाशील रही कार्यसम्पादन गर्न २१ वटा मन्त्रालयमा संयोजकसहितको मन्त्रालयस्तरीय समिति गठन गर्नुभएको छ ।

छाया सरकारमा सहभागीलाई मन्त्रीको दर्जा नदिए पनि विधानअनुसार संयोजक भनेर तोकिएको छ । छाया सरकारले मन्त्रालयमा हुने काम कारबाहीको सूक्ष्म रुपमा निगरानी गर्नेछ । कांग्रेसले २१ वटा मन्त्रालयमा छाया सरकारको रुपमा मन्त्रालय स्तरीय समिति गठन गरे पनि छाया प्रधानमन्त्री भने तोकेको छैन ।
सभापति देउवाका निजी सचिव केशवराज जोशीका अनुसार गृह मन्त्रालयको जिम्मेवारी दिलेन्द्रप्रसाद बडुलाई दिइएको छ । बडुको संयोजकत्वमा गठित गृह मन्त्रालयको समितिमा सांसद रमेशजंग रायमाझी र महेन्द्रकुमारी लिम्बुलाई सदस्य बनाइएको छ ।

सभापति देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा सांसद सत्यनारायण खनाल र ज्ञानकुमारी छन्त्याल सदस्य रहेको समिति गठन गर्नुभएको छ भने परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्काको संयोजकत्वमा डा. अमरेशकुमार सिंह र दिव्यमणि राजभण्डारी सदस्य रहेको समिति गठन गर्नुभएको छ ।

संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छाया सरकारका रुपमा क्रियाशील रही कार्यसम्पादन गर्नका गठन गरिएको मन्त्रालयस्तरीय समन्वय समितिअन्तर्गत अर्थ मन्त्रालयको जिम्मेवारी डा. मीनेन्द्र रिजाललाई दिइएको छ । रिजालको संयोजकत्वमा गठित समितिमा मीना पाण्डे र विनोदकुमार चौधरी सदस्य छन् । शहरी विकास मन्त्रालयको जिम्मेवारी भने उमाकान्त चौधरीलाई दिइएको छ । शहरी विकास मन्त्रालयमा मीनाक्षी झा र रामबहादुर विष्ट सदस्य छन् ।

सभापति देउवाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी किशोरसिंह राठौरलाई दिनुभएको छ । यो मन्त्रालयमा राठौरको संयोजकत्वमा रंशगति शाही र दुर्गाप्रसाद उपाध्याय सदस्य रहेको समिति बनाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने मीनबहादुर विश्वकर्माले पाउनुभएको छ । सांसद विन्दादेवी आले राना र कर्मा घलेलाई यो मन्त्रालयको समितिमा सदस्यको जिम्मेवारी दिइएको छ ।

नेता गगन थापालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । थापा संयोजक रहेको समितिमा उमेश श्रेष्ठ र नमिताकुमारी चौधरी सदस्य रहेका छन् । कांग्रेसले छाया सरकारका रुपमा खानेपानी मन्त्रालयको जिम्मेवारी सुजाता परियारलाई दिएको छ । उहाँको संयोजकत्वमा गठित समितिमा मीना सुब्बा र नागेन्द्रकुमार राय सदस्य रहेका छन् ।

गृहमा दिलेन्द्रप्रसाद वडु, रक्षामा भीमसेनदास प्रधान, अर्थमा मीनेन्द्र रिजाल, शिक्षामा गगन थापा, स्वास्थ्यमा पार्वता डिसी चौधरी, शहरी विकासमा उमाकान्त चौधरी, परराष्ट्रमा नारायण खड्कालाई जिम्मेवारी

कांग्रेसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजक पार्वता डिसी चौधरीलाई तोकेको छ । सभापति देउवाले चौधरीको संयोजकत्वमा गठित समितिमा सीताराम महतो र मोहन आचार्यलाई सदस्य राख्नु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजकको जिम्मेवारी भने देवेन्द्रराज कँडेलले पाउनुभएको छ । उहाँको संयोजकत्वमा गठित यो मन्त्रालयको समितिमा प्रकाश स्नेही रसाइली र प्रमिला राई सदस्य छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सञ्जयकुमार गौतमले पाउनुभएको छ । यो मन्त्रालयमा जिप छिरिङ लामा र देवप्रसाद तिमिल्सिना सदस्य छन् । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी भने राजेन्द्रकुमार केसीले पाउनुभएको छ । वन मन्त्रालयको समितिमा मुक्ताकुमारी यादव सदस्य हुनुहुन्छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी राधेश्याम अधिकारीलाई दिइएको छ । सभापति देउवाले कानुन मन्त्रालयमा संयोजक मात्रै तोक्नुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजकमा डा. डिला संग्रौला पन्तलाई संयोजक तोकिएको छ । यो मन्त्रालयमा प्रकाश पन्थ एक मात्र सदस्य हुनुहुन्छ ।

देउवाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बहादुर सिंह लामाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको छ । जसमा सूर्यबहादुर केसी र विमला नेपाली सदस्य छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी लक्ष्मी परियारलाई दिइएको छ । परियारको संयोजकत्वमा गठित यो मन्त्रालयमा प्रमोदकुमार यादव र स्मृति नारायण चौधरी सदस्य छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मतहर कमाल मुसलमानको संयोजकत्वमा समिति गठन गरिएको छ । यो मन्त्रालयमा तेजुलाल चौधरी र धनकुमारी खतिवडा सदस्य छन् ।

देउवाका निजी सचिव जोशीका अनुसार रक्षा मन्त्रालयको जिम्मेवारी पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानलाई नै दिइएको छ । प्रधानको संयोजकत्वमा गठित समितिमा अभिषेकप्रताप शाह सदस्य हुनुहुन्छ । कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी पद्मनारायण चौधरीले पाउनुभएको छ । चौधरिको संयोजकत्वमा गठित समितिमा अनिता देवकोटा र सरवत आरा खानम हलुवानी सदस्य छन् ।

कांग्रेसले गठन गरेको छाया सरकारमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी उमा रेग्मीलाई दिइएको छ । यो मन्त्रालयको समितिमा लालकाजी गुरुङ र हीरा गुरुङ सदस्य छन् ।