सशस्त्र प्रहरीको एक्सनः १ लाख १८ हजार बराबरको अवैध समान बरामद


किरन धामी, दार्चुला ।

पछिल्लो समय सिमा सुरक्षा तथा अवैध माल समान वसार पसारलाई नियन्त्रण गर्न सक्रिय रुपमा लागी परेको सशस्त्र प्रहरीले सोमबार विहानै भारतबाट भञ्सार छली अवैध रुपमा नेपाल ल्याउदै गरेको एक लाख १८ हजार बराबरको समान बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं. ५० गुल्म दार्चुलाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक शंकर दत्त पन्त नेतृत्वको मोबाईल गस्ती टोलीले भारतबाट अवैध रुपमा भञ्सार छली महाकाली नदि माथीबाट नेपाल तार्दै गरेको अवस्थामा सोमबार विहान ५ः३० बजे मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ बेतबाट १ लाख १८ हजार मुल्य बराबरको ४ सय बण्डल घोडा बिडी, र ५ सय मुल्य पर्ने १ थान एमबीओ कम्पनीको मोबाईल बरामद गरेको गुल्मपति भिम चन्दले जानकारी दिनुभयो ।

भञ्सार छली महाकाली नदि माथीबाट अवैध रुपमा उक्त समान नेपाल तार्दै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोली पुगे पछि समान छोडेर मान्छे भागेको उहाले बताउनु भयो ।

समान संगै १ थान भारतिय बिएसएनएल सिमकार्ड र १ थान नमस्ते सिमकार्ड समेत बरामद गरिएको उहाले जानकारी दिनुभयो । बरामद गरिएको अवैध समान आवश्यक कारबाहीका लागी छोटी भञ्सार कार्यालय दार्चुलामा बुझाएको उहाले बताउनु भयो ।