बलात्कार गर्ने प्रहरीलाई कारवाहीको माग राख्दै प्रदर्शन

0
Shares

नवलपरासी ।  पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै जेठ ५ गते आइतबार स्थानीयले प्रदर्शन गरेका छन् ।

एक महिनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको हो । निलम्बन पर्नेमा दङ्गा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीय प्रेम खड्का र दाङ गडवा गाउँपालिका–४ का २३ वर्षीय पाटेश्वर यादव छन् ।

उनीहरु दुवैलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी बताए  । घटना गत वैशाख १ गतेको हो । गण नजिकैको जङ्गलमा घाँस काट्न गएका एक किशोरी र एक युवतीमाथि प्रहरी जवानद्वयले बलात्कार गरेको आरोप छ । घटना भएलगत्तै पीडित युवतीले केही नभनेको र केही दिनअघि मात्र जानकारी दिएकाले प्रहरी कहाँ उजुरी दिएको आफन्तले बताएका छन् ।

सुरक्षित आश्रम भवन निर्माण

बाढी प्रभावित क्षेत्र मानिने पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७  भुजहवामा सुरक्षित आश्रम भवन निर्माण गरिएको छ । विभिन्न विपद्को अवस्थामा स्थानीयलाई आश्रय प्रदान गर्ने उद्देश्यले बहुउद्देश्यीय आश्रय भवन निर्माण गरिएको हो ।

सोही क्षेत्रका स्थानीयलाई विशेष गरी बाढीको समयमा हुनसक्ने समस्यालाई मध्यनजर गरी सुरक्षित आश्रय भवन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिए  ।

करीब रु ५० लाखको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो । सरावल गाउँपालिकाअन्तर्गत वडा नं ५, ६ र ७ लाई  डुबानको जोखिम क्षेत्र मानिन्छ । यहाँका स्थानीयलाई अब वर्षाको बेलामा केही सहजता हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए  । निर्माण गरिएको भवनमा पाँच वटा कोठा रहेका छन् ।