रौतहटको बनमा चोरी शिकारी ह्वात्तै बढ्यो, प्रहरीको निगरानी बढाइयो


सञ्जय कार्की, रौतहट । चोरी शिकारी नियन्त्रण हुन नसक्दा रौतहटको बनक्षेत्रमा भएका बन्यजन्तु मासिदै गएको पाइएको छ ।

दैनिक जसो चोरी शिकारीले रौतहटको बन बाट बन्यजन्तु र पंक्षिको शिकार गरिरहेको पाइएको छ । चर्को गर्मीमा पानी पिउन खोला नाला आउने र बनमा डढेलो लागेपछि गाउको आसपास क्षेत्रमा आउने बन्यजन्तुहरु चोरी शिकारीको निशानामा पर्ने गरेको छ ।

शनीबार राती मात्रै डिभिजन बन कार्यालय रौतहटको ईलाका बन कार्यालय नुनथर क्षेत्रमा चोरी शिकारीले दुई वटा चितल लाई गोलिको छर्रा प्रहार गरेर मारेका छन । शरिरको बिभिन्न भागमा गोलिको छर्रा लागेपछि भागेर चन्द्रपुर नगरपालिका–१ मङ्गलपुर गाउमा प्रबेश गरेको ती दुबै चितलको डिभिजन बन कार्यालय बाट उद्धार हुनु पुर्बनै मृत्यु भएपछि बन कर्मचारीले स्थानीयको रोहबरमा खाल्डो खनेर पुरिदिएका छन ।

चोरी शिकारीले बनमा हुने हरिण, मृग, चितल, बदेलको शिकार गर्नकै लागि बनमा डढेलो लगाउने गरेको पाइएको छ । पछिल्लो समयमा रौतहटको बन पातलिदै जानु, तालहरु सुक्नु, खोला नालामा पानीको सतह घटनुनै बन्यजन्तुको लागि जङ्गल असुरक्षित बास बनेको छ । वन्यजन्तु तथा पंक्षीको सिकार गर्नुलाई सरकारले दण्डनीय अपराध माने पनि यस्ता शिकारी पक्राउ पर्न नसक्दा उनीहरु उम्किने गरेका छन ।

प्रहरीले अबैध हतियार बुझाउन उर्दी जारी गरेपछि शिकारीले अबैध हतियार र जाल प्रयोग गरेर बन्यजन्तुको सिकार गर्ने गरेको स्थानीयको भनाई रहेको छ । शिकारी बाट मारिएको बन्यजन्तु र पंक्षिको बिषयमा डिभिजन बन कार्यालयले जानकारी पाएको खण्डमा नियन्त्रणमा लिएर मुचुल्का सहित खाल्डोमा पुर्ने गरेको छ ।

डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका सहायक बन अधिकृत रामाशंकर यादबले चर्को गर्मी मौसम र बनमा डढेलो लागेको बेला चोरी शिकारी हुने गरेको बताउनु भयो । यस्ता लाई पक्राउ गर्न निगरानी बढाइएको उहाले बताउनु भयो ।