१७ औ शताब्दीको चण्डेश्वरी जात्रा


मोतीराम तिमल्सिना, बनेपा ।
बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्राको रथ आईतबार चण्डेश्वरी मन्दिरबाट देउता राखेर फर्काईएको छ । नगरपालिकाले जात्राको अवसर पारी सार्वजनिक विदा दिएको छ ।

हरेक वर्ष वैशाख शुक्ल चण्डी पूर्णिमाको दिन बनेपाको ७ गाउँले मनाउँदै आएको आराध्यदेवी चण्डेश्वरीको ऐतिहासिक जात्रामा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको छ ।

बनेपालीहरुले महान् पर्वको रुपमा मनाइने चण्डश्वरी जात्रा १७ औं शताब्दीबाट सुरु भएको किवदन्तीमा उल्लेख छ । बनेपाको तीनधारा डबलीमा रथ बनाई जुगी चक्रको पूजा सम्पन्न गरे पछि रथको यात्रा सुरु गरिएको थियो । जात्रामा रथ बोक्नेहरु सयौँको सङख्यामा हुन्छन ।

बनेपाको रथमा पाँग्रा हुँदैन, तान्ने पनि होइन । यसलाई काँधमा बोकिन्छ । रथ जात्रा सुरु भएदेखि नै बजारका दाँया–बायाँका घरका झ्यालबाट पूजा गर्ने, चटामरी चढाउने चलन छ । चण्डेश्वरी जात्रामा दुई दिन रथ लैजाने र फर्काउने गरिएको छ । जात्राको पहिलो दिन पूर्णिमाको बिहानै देखि आराध्यदेवी चण्डेश्वरीमा भक्तजनहरुको भीड लाग्छ ।

पहिलो दिन चिराग बालेर बनेपाको लायकुबाट चण्डेश्वरी हुँदै जलेश्वरसम्म पुगेर बिर्सजन गरिन्छ । जात्रामा चिराग पूजालाइ मःत पूजा नामले चिनिन्छ । यसलाइ जात्रा सुरु भएको मानिन्छ । यो पूजाबाट जलेश्वर महादेवले मनको इच्छा पूरा गरिदिने जनविश्वास छ । उक्त दिन निःसन्तान, बाँझोपन भएका र गर्भपतन भएका महिलाहरुले स्नान गर्यो भने अर्को पटक गर्भ रहने विश्वास गरिन्छ ।

पूजाआजाको साथमा धिमेवाजा अन्य बाजागाजाका साथ सबै हर्षोउल्लासले रथ बोक्दै रमाउँदै हिँड्छन् । बनेपाको लायकुबाट सुरु भएको रथ चण्डेश्वरीसम्म पु¥याईन्छ । जाँदा रित्तो रथमा भोलिपल्ट चण्डश्वरीको मूर्ति राखेर बनेपा बजार घुमाइन्छ । मन्दिर प्राङगणमा पुगे पछि एक रात रथ त्यहीँ रहन्छ । जात्रा मुख्य रुपमा दुई दिन मात्र मनाईए पनि जात्राको पूजा सम्बन्ध फागु पूर्णिमाको दिन देखि जोडिन आउँछ ।

फागु पूर्णिमाको दिन चण्डेश्वरीमा पुजारीको तर्फबाट चण्डेश्वर महादेव र चण्डेश्वरीको निम्तो पूजा गर्नुपर्ने चलन छ । बनेपाको घोगेचौरको उकालोमा नबिसाई रथलाई बोक्नुपर्ने हुन्छ । यो बेलामा बनेपालगायत अन्य जिल्लाका स्थानीयहरुको जात्रा हेर्ने भीड धेरै हुने गर्छ ।

घोकेचौरबाट ओरालो लागेर भैरब कुण्डमा पुगेपछि रथ हेर्नेको भीड अझै बढ्छ । त्यहाँ देवतालाई स्नान गराइन्छ । जब रथ बनेपा बजारमा भित्रिन्छ, द्धारे मार्पmत लशकुश पूजा गरिन्छ । त्यस बेलासम्म देवीको मुख (अनुहार) ढकनीले छोपेको हुन्छ । यस ठाँउमा पुगेपछि भोछिभोयाका दूधे बालकबाट ढकनी हटाई बनेपा बजार भर धुमधामका साथ रथ जात्रा गरिन्छ ।

रथ बोक्नेहरुलाई भिजाएको केराउ, विभिन्न फलफूल, चिसो पेय पदार्थ, रक्सी खुवाउने पनि चलन छ । पूर्णिमाको अघिल्लो रातमा चण्डेश्वरी मन्दिरमा १२ ओटा कालो निख्रा बोकाको बलिपूजा गरिन्छ । त्यसै दिन बोकाहरुको मासु बनेपाको ‘न्हयकंचपा’ भन्ने स्थानमा कलनदान गरिन्छ, मासु छरिन्छ, छरिएको मासु भेटाउने भाग्यमानी मानिन्छ । यस पछि देवतालाई काँधमा राखि चण्डेश्वरी फर्काइन्छ र जात्रा समापन भएको मानिन्छ ।

जात्रा सकिएको भोलिपल्ट १२ बजेसम्म मात्र मन्दिर खुल्ला हुन्छ । त्यस पछि वर्षभरिको लागि मन्दिर बन्द हुन्छ । जात्राका लागि बनेपा नगरपालिकाले १२ लाख, मालपोत कार्यालयमार्फत नेपाल सरकारले ३३ हजार ५ सय र अन्य गरी १७ लाख ३३ हजार ५ सय खर्च हुने बनेपा नगरपालिकाकाले जानकारी दिएको छ । बनेपा नगरपालिकाले छुट्टाएको उक्त बजेट भीमसेन जात्रा, गाईजात्रा, चण्डेश्वरी माताको नित्य पूजा, जालदेउ जात्रा, मिलापूजा, पाश्चर्य पूजा लगायत संस्कृति संरक्षणमा खर्च हुने बताए ।

जात्रामा कम्तीमा १४ वटा बलि पूजासमेत गरिन्छ । संस्कृतिविद् ज्ञानकाजी मान्नधरले दिएको जानकारीअनुसार चण्डेश्वरीदेवी बनेपालीको आराध्यदेवी भएको उल्लेख गर्दै चण्डेश्वरीदेवीले दैत्यराज चण्डाशुरको बध गरेको खुसियालीमा चण्डेश्वरी जात्रा हुने गरेको छ ।

वंशावलीअनुसार सत्ययुगदेखि जात्रा हुने गरेको उल्लेख गर्दै उहाँले चण्डासुर दैत्यको बध भएपछि देवलोकमा देवी चण्डेश्वरीको बाजागाजासहित जात्रा गरिएकाले सो जात्राको परम्परा सुरु भएको हो । नेपाल संवतको सुरुवातदेखि नै नेपालमा जात्राको सुरुवात भए अनुसार काभ्रेमा जात्रा गर्ने प्रचलन रहेको मानन्धरले बताए ।